
पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाले जिल्लाका सञ्चारमाध्यमहरुमा कार्यरत श्रमिकहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विहीबार यहँँका ५ जना सञ्चार श्रमिकहरुलाई चौतारीले सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा सूर्य बहादुर थापा, राजेश शाही, मान बहादुर भुजेल, कम्प्युटर अपरेटर सिर्जना बोहोरा र निरञ्जन पौडेल रहेका छन् । ठूूलो पदमा बस्ने, टाठा बाठाहरुलाई मात्र समाजमा सम्मान गर्ने परम्परालाई तोड्दै चौतारीले सञ्चारका पर्दा पछाडीका हिरोहरुलाई खोजी खोजी सम्मान गरेको हो । पाल्पा रामपुरमा कार्यरत सम्मानित मान बहादुर भुजेल शारिरिक रुपमा फरक क्षमताका व्यक्ति हुन् । उनी पृथ्वी टेलिभिजन रामपुरमा क्यामेरामेनको रुपमा काम गर्दै आएका छन् । उनले आफु जस्ता श्रमिकहरुलाई खोजी खोजी सम्मान गरेकोमा खुसी व्यक्त गरे । “काम गर्दै गएपछी कहि न कहिबाट सम्मानित भईदो रहेछ, आज म सम्मानित हुन्छु भनेर सोचेको पनि थिएन । तर मलाई प्रेस चौतारीले सम्मान ग¥यो म यसैमा खुसी छु”, सम्मानित भुजेलले भने ।
सम्मानित अर्का व्यक्ति हुन् सूर्य बहादुर थापा । थापा पुरानो प्रेसमा सिसाका अक्षरहरु मिलाएर पत्रिका छाप्ने व्यक्ति हुन् । पाल्पामा पहिलो कम्प्युटर अपरेटर भएर पत्रिका डिजाईन गर्ने व्यक्तिको पहिचान बनाएर थापा पछिल्लो क्रममा ओझेलमा थिए । विभिन्न पत्रिकाहरुमा ३० बर्ष भन्दा बढी काम गरियो आज प्रेस चौतारीबाट सम्मानित हँुदा आत्मसम्मान बढेको थापाले बताए ।
पाल्पाबाट प्रकाशित हुने सबै पत्र पत्रिकाका एक्ला वितरक हुन राजेश शाही । शाहीले विहान ६ बजेदेखी राती ६ बजे सम्म तानसेनमा पत्रिका ग्राहककोे घर–घरमा वितरण गर्दै आएका छन् । चौतारीले शाहीलाई सञ्चार श्रमको कदर गर्दै सम्मान गरेको हो । “म दिन भरी पत्रिका बोकेर बजार डुल्छु तर आज प्रेस चौतारीले सम्मान गर्दा खुसी लागेको छ ” पत्रिका वितरक शाहीले भने ।
अर्की सम्मानित सिर्जना बोहोरा लामो समयदेखी पाल्पामा बसेर पत्रपत्रिकाको कम्युटर सेटिङ्ख तथा डिजाइनको काम गर्दै आएकी महिला हुन् । सञ्चारकर्मीहरु मध्ये महिलाको प्रतिनिधित्व गर्दै आफु सम्मानित हुँदा काम गर्ने जोश जागर बढेको सम्मानित बोहोराले बताईन ।
रेडियो प्राविधिक निराजन पौडेलले विगत १० बर्ष भन्दा बढी समय पाल्पाका विभिन्न रेडियोहरुमा काम गरिसकेका छन् । सम्मानित पाँचै जनालाई चौतारीले एक दिनको ज्याला बराबरको पारिश्रमिक समेत प्रदान गरेको छ । उनीहरुलाई विना ज्याला कार्यक्रममा बोलाउदा उनीहरुको ज्याला गुम्ने भएकाले प्रेस चौतारी पाल्पाले एक दिनको ज्याला पनि उपलब्ध गराएको हो ।
सम्मान कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष ओम बहादुर घर्तिमगर, प्रेस चौतारीका केन्द्रीय सदस्य मिलन विश्वकर्मा, पत्रकार महासंघका अध्यक्ष कमलराज तिमिल्सेना, एमाले पाल्पाका प्रचार विभाग सचिव रेखीराम राना, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्याल, प्रेस चौतारीका अनुशासन आयोगका पुर्व केन्द्रीय उपाध्यक्ष भगवान भण्डारी लगायतले प्रेस चौतारीले गरेको सञ्चार श्रमिक सम्मान कार्यक्रम नौलो र प्रभावकारी भएको बताए । चौतारी शाखा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, उपाध्यक्ष शोभाकान्त पाठकको स्वागत र सचिव दयाराज न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।