Shittalpati
रैनादेवी छहरा सरकारको बजेट खर्च ३६ प्रतिशत

कृष्ण पोखरेल
पाल्पा, रैनादेवी छहरा गाउँ सरकारको चालु आर्थिक वर्षको ७ महिनामा ३६ प्रतिशत बजेट मात्रै खर्च भएको छ । माघ मसान्तसम्म गाउँ सरकारको कुल विनियोजित बजेटको ३६ प्रतिशत मात्रै बजेट खर्च भएको हो । चालु आर्थिक वर्षमा ६८ करोड ९ लाख २५ हजार विनियोजन गरेकोमा गाउँ सरकारले बितेको सात महिनासम्म मुस्किलले कुल बजेटको ३५.६३ प्रतिशत अर्थात् २४ करोड २६ लाख ५२ हजार बजेट मात्रै खर्च गरेको छ । पालिकाले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको कार्यप्रगती विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार गाउँ सरकारले चालुतर्फ ४२.४५ प्रतिशत बजेट खर्च गरेको छ । ४५ करोड ३४ लाख ५२ हजार विनियोजन गरेकोमा १९ करोड २५ लाख २९ हजार अर्थात् ४२.४५ प्रतिशत खर्च भएको हो । यस्तै पुँजीगततर्फ २२ करोड ७४ लाख ५२ हजार विनियोजन गरेकोमा ५ करोड २३ हजार अर्थात् २२.०३ प्रतिशत खर्च भएको पालिकाले जनाएको छ । यस्तै चालु आर्थिक वर्षमा ३ सय ९१ वटा योजना रहेकोमा ३ सय ३० वटा सम्झौता गरिएको र १ सय ३५ वटा फस्यौट भएका छन् । पालिकाले राजश्वतर्फ १ करोड २५ लाख संकलन गर्ने लक्ष्य राखेकोमा उक्त अवधिमा ४३ लाख रकम संकलन भएको छ ।

कृषि सहकारीतर्फ
पालिकाले हालसम्म सहकारीमा कोपिमिस प्रणाली लागु गर्ने विषयमा छलफल अन्तक्र्रिया र तालिमको कार्यक्रम सकि लागु गरेको, कृषि तथा पशु उत्पादन बढाउन भकारो सुधार, बाख्रा खोर सुधार, मौरीघार वितरण, मिनि टिलर वितरण, टोल–टोलमा कुटानी पिसानी मिल वितरण, सिंचाईका लागि प्लाष्टिक तथा सिमेन्ट पोखरी निर्माणका योजना सम्झौता गरी काम शुरु गरेको छ । उसले मागमा आधारित कृषि सामग्री वितरण कार्यक्रम सुुरु गरेको, रासायनिक मलको कारोवार गर्ने सहकारीहरुलाई व्यस्थित बनाएको, कागती, सुन्तला र तरकारी पकेट क्षेत्रका कार्यक्रमहरु सञ्चालन गरेको, लोकल कुखुरा, बंगुर र माछापालक कृषकहरुलाई उत्पादन बढाउन प्रोत्साहन स्वरुप अनुदान कार्यक्रम सञ्चालन गरेको, पशुमा नश्ल सुधार, पशुपक्षी डिस्पेन्सरी सेवा सञ्चालन गरेको, कृषकहरुलाई दुधमाप्रति लिटर २ रुपैयाँ, तरकारीमाप्रति केजी २ रुपैयाँ, मासुमा प्रति केजी २० रुपैयाँ अनुदानको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष रुकमागत भट्टराईले बताए ।

स्वास्थ तर्फ :
पालिका भित्रका घ बर्गका अपा·हरुलाई मासिक २ सय ५० का दरले सामाजिक सुरक्षा भत्ता सहयोग प्रदान शुरु गरेको, वडागत रुपमा निःशुल्क घुम्ती शिविर सञ्चालन गरी १ हजार ३ सय ६५ जनालाई सेवा प्रदान गरेको, भैरव नवदिप माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सञ्चालन गरेको, मासिक रुपमा सबै स्वास्थ्य चौकीहरुमा ग्रामीण अल्ट्रा साउण्ड सेवा सञ्चालन गरेको, सत्यवतीमा प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरेको, भुवनपोखरीमा निःशुल्क क्षयरोग शिविर सञ्चालन गरेको, निःशुल्क आँखा शिविर सञ्चालन गरी २० जनाको शल्यक्रिया गरी आखाँको दृष्टि फर्काएको, जेष्ठ नागरिकहरुलाई घर–घरमै पुगी स्वास्थ्य चेकजाँच तथा निःशुल्क औषधी उपचार गरेको, पालिका अध्यक्ष भट्टराईले बताए ।

शिक्षातर्फ :
विद्यालयमा सञ्चालन हुँदै आएको दिवा खाजामा नेपाल सरकारले दिएको रकम अपुग भएपछि पालिकाले पाँच थप गरी २० रुपैयाँ बनाएको, इसिडि सहकर्ताहरुलाई पालिकाबाट ५ हजार थप गरी मासिक १५ हजार र लेखाका कर्मचारीहरुलाई ३ हजार ५ सय थप गरी १७ हजार, कार्यालय सहयोगीलाई ७ हजार थप गरी मासिक रुपमा १५ हजार र सामुदायिक सिकाई केन्द्रका कर्मचारीहरुको मासिक १५ हजार सुविधा कार्यान्वयमा आएको छ । प्रत्येक वडाबाट दुई जनाका दरले गरीब तथा जेहेन्दार विद्यार्थीलाई प्राविधिक शिक्षाको लागि छात्रवृत्ति कार्यक्रम, कक्षा एकदेखि तीनसम्म स्थानीय पाठ्यक्रम लागु गरेको हाल कक्षा चार र पाँचको पाठ्यक्रम निर्माणको चरणमा रहेको पालिका उपाध्यक्ष युवराज थापाले बताए ।

भौतिक पूर्वाधारतर्फ
गाउँपालिकाको ३ वटा जिल्लासँग सिमान जोडिएकाले तीन जिल्लाबाट आवत जावत गर्नको लागि सुविधा सम्पन्न सडक निर्माणमा क्रियाशिल रहेको पालिकाका प्रवक्ता देवेन्द्र पुनले बताए । रुपन्देहीसँग सिमाना जोडिएको सुन्दरढुङ्गा जुठापौवा, सालझण्डी सडक निर्माण निरन्तर अगााडि बढेको, गुल्मीसँग सिमाना जोडिएको धजाबान्ने, ताङ्सिगल सातमुरे सडक निर्माण शुरु भएको, पेलावास बल्घा अर्घाखाची, पेलावास, वडा कार्यालय, तालपोखरा हुँदै अर्घाखाची जोड्ने मोटरबाटो निर्माण कार्य अगाडि बढाएको, मैदिगा छहरा सडकमा ग्रावेल शुरु गरिएको प्रवक्ता पुनले जानकारी दिए । सिस्नेखोला र मधुवाघाटमा झोलुङ्गे पुल निर्माण अगाडि बढाएको, पालिकाको नामाकरण भएको रैनादेवी मन्दिर निर्माणको कार्य शुरु भएको, कटौजेपानीमा पालिकास्तरीय खेलमैदानको स्तरीकरणको काम भइरहेको, वडा ४ तिलकस्थानमा हेलिप्याड निर्माण गरेको, नेपाने र भट्टेमा लिफ्ट खानेपानी योजना ठेक्का प्रक्रिया अगााडि बढेको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताए ।

सुशासनतर्फ :
उपभोक्ता समितिका पदाधिकारीहरुलाई वडामै तालिम तथा योजना सम्झौता गरिएको, सम्पन्न भएका योजनाहरुको गुणस्तरीयताका लागि नियमित अनुगमन बढाएको, स्थानीयतह क्षमता मुल्याङकन सम्पन्न गरी ६६.२५ अंक प्राप्त गरेको, गाउँपालिका भित्र सबै शाखा तथा कर्मचारी कक्षमा सिसिटिभी जडान गरिएको लेखा अधिकृत लिलामणी बस्यालले बताए ।

वन वातावरण तथा विपद व्यवस्थापन :
विभिन्न प्रकृतिका विपदमा परेका पालिकावासीहरुलाई आर्थिक सहायता तथा राहत वितरण गरिएको, बर्षाबाट क्षति भएका मोटरबाटो तथा कुलोहरु मर्मत भएको, स्थानीय वन ऐन र खानेपानी सरसफाई ऐन गाउँसभाबाट पारित भएको, पालिकाबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन गाउँसभाबाट संकल्प प्रस्ताव पारित भएको छ । वन व्यवस्थापन, रेखदेख संरक्षणको लागि सामुदायिक वनका उपभोक्तासँग अन्तक्र्रिया गरिएको, फोहोरमैला व्यवस्थापनको विषमा सर्वपक्षिय छलफल गरी कार्यदल गठन भएको पालिकाले जनाएको छ । पालिकाभरी सबैभन्दा समस्या रहेका दलित बस्ती गोखुङ्गा, भुलुवा पोखरा, भिरवास, लेखटोल सम्म धारा विस्तार गरी खानेपानी वितरण भएको, चिसापानी, असारे, साउने, सिद्धेश्वरमा खानेपानी धारा वितरण गरेको, भुवनपोखरी अरधाईमा खानेपानी सञ्चालनमा आएको, तिलकस्थान अमलावासमा सञ्चालनमा आएको, मुझुङ लिफ्ट खानेपानी योजना अगाडि बढेको, मेहलढाप खानेपानी योजना सुचारु भएको पालिका अध्यक्ष भट्टराईले बताए । ग्वारठाना खानेपानी योजना, नेपाने खानेपानी योजना, लौधा खानेपानी योजना, बल्ढेङगढी खानेपानी योजना, सत्यवती खानेपानी योजना र जुठाम खानेपानी योजना अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update