Shittalpati
रामपुरका वडामा डिजिटल नागरिक वडापत्र

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाको कार्यलय सहित वडा कार्यालयहरुमा डिजिटल नागरिक वडापत्र राखिएको छ । नगर र कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि डिजिटल नागरिक वडा पत्र राखिएको हो ।

नगरपालिकाले आफ्ना सेवाहरुलाई प्रभावकारी र जनमैत्री बनाउने उद्देश्यले वडा–वडामा समेत डिजिटल वडा पत्र राखेको छ । अहिले नगरपालिका सहित यहाँका वडा ४, ५ र ६ मा डिजिटल नागरिक वडापत्र राखिएको छ । कार्यालयबाट प्रवाह हुने सेवाको विस्तृत जानकारी सहितको डिजिटल बडापत्र राखिएको नगरपालिकाले जनाएको छ । डिजिटल वडापत्रमा आफुले कुन सेवा लिन चाहेको हो त्यसको बारेमा विस्तृत रुपमा जानकारी राखिएको छ । वडापत्रमा कार्यालयबाट प्रवाह हुने ६० प्रकारका सेवा कसरी लिने, कहाँ लिने र आवश्यक कागजी प्रक्रियाका बारेमा जानकारी राखिएको छ । साथै डिजिटल नागरिक वडापत्र कसरी चलाउने भन्ने सञ्चालन विधि पनि राखिएको छ । सेवाग्रहीले सिधैँ आफुले लिन चाहेको सेवाको बारेमा आवश्यकता अनुसार स्वयम हेर्न सक्ने छन् ।

प्रविधिको युगसँगै सरल र सहज रुपमा आफुले लिन चाहेको सेवाको विषयमा सेवाग्राहीले जानकारी पाउन सजिलो होस् भन्ने उद्देश्यले डिजिटल नागरिक बडापत्र राखिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । प्रविधिको उच्चतम प्रयोग सहित डिजिटल नागरिक वडापत्र राखेसंगै हरेक सेवा लिँदा सेवाग्राहीलाई सहज हुने बताए । नगर भित्रका केही वडामा राखिएको र अन्य वडा कार्यालयमा पनि डिजिटल नागरिक वडापत्र छिट्टै राखिने रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए । उनले डिजिटल नागरिक वडापत्रमार्फत आफुले सेवा लिने स्थान र प्रक्रियाको विषयमा थाहा पाउन सजिलो बनाउने बताए ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update