Shittalpati
विपन्न विद्यार्थीलाई न्यानो कपडा

पाल्पा । जिल्लामा क्रियाशिल संगिता फाउन्डेसनले विपन्न विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गरेको छ । चिसो बढ्दै गएपछि फाउण्डेशनले जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ डाँडा गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयका गरिब, असहाय तथा विपन्न वर्गका विद्यार्थीहरुलाई एक कार्यक्रममा बीच न्यानो कपडा वितरण गरेको हो ।

पश्चिमी वायुका कारण जिल्लामा पनि चिसो बढ्दै गएकाले चिसोबाट बच्नका लागि विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको फाउण्डेशनका अध्यक्ष संगिता भट्टराईले बताईन् । फाउण्डेशनले विद्यालयमा अध्ययनरत ४१ जना विद्यार्थीहरुलाई न्यानो कपडा दिएको हो । विद्यार्थीलाई कपडा हस्तान्तरण गर्दै ३ का वडा अध्यक्ष लालबहादुर दर्लामीले फाउण्डेसनले गरेको सहयोग अत्यन्तै प्रशंसनिय रहेको बताए ।

सरकार र विद्यालयले गर्नुपर्ने काम निजी संस्थाले गरेको भन्दै अध्यक्ष दर्लामीले विपन्न विद्यार्थीहरुको अध्ययनमा महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरे । शैक्षिक विकासका लागि वडा कार्यालयले फाउण्डेशनसँग सहकार्य गर्ने उनले बताए । फाउन्डेसनका अध्यक्ष भट्टराईले सबैले आफ्नो कमाईको सानो अंश सेवामा लगाउन सके विपन्न बालबालिकाहरुको मुहार फेरिन सक्ने विचार व्यक्त गरिन् । काउन्सेलर तथा युवा उत्प्रेरक समेत रहेकी भट्टराईले बालबालिकाहरुलाई कसरी सफल बनाउने भन्ने विषयमा समेत विद्यार्थी, शिक्षक र अभिभावकलाई जानकारी गराएकी थिइन् । विद्यालयका प्रधानाध्यापक बिमल पन्तले विद्यालयलाई बालमैत्री वातावरणबाट अघि बढाउन फाउण्डेसनसँग सहकार्य गर्ने बताए । विद्यालयको आयोजनामा भएको न्यानो कपडा वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ज्ञानप्रसाद श्रेष्ठको अध्यक्षता, विद्ययालयका पूर्वशिक्षक सुवास पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update