Shittalpati
आज राष्ट्रिय बाल दिवस मनाइँदै

पाल्पा, ‘सामान्य अवस्था वा कोभिड महामारी: बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका आज ५७ औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ । कोरोना कहरको कारण यो दिवस आज भर्चुअल रूपमा मनाउने सरकारी तयारी छ ।


दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रियप्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थालाई दिवसका दिन भ्याइ–नभ्याई नै हुने गरेको छ । तर बालबालिकामाथि हुने विभिन्न घटना तथा हिंसामा भने कुनै कमी आउन सकेको छैन । सरकारले अहिलेसम्म बालबालिकाको क्षेत्रमा कुनै पनि खास अध्ययन अनुसन्धान गरेको पाईदैन । बरु उसले प्रत्येक वर्ष सार्वजनिक सञ्चार माध्ययममा आएका घटना समेटेर सार्वजनिक गर्दै आइरहेको छ । सरकारी तथ्याङ्क भन्दा धेरै घटना भने अझै समाजबाट बाहिर आउन सकेका छैनन् । तर पनि सार्वजनिक भएका तथ्याङ्कलाई हेर्दा चिन्ताजनक अवस्था रहेको पाइन्छ । बालश्रम, बलात्कार, मृत्यु, बाल विवाह, हत्या, बेचविखन तथा ओसार–प्रसार, कुपोषण, गर्भपतन, आत्महत्या, अपहरण र शारीरिक सजाय जस्ता बालबालिका सम्बन्धी घटनाहरु हुने गर्दछन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update