Shittalpati
आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन

पाल्पा, आज कुसे औसी अर्थात् बाबुको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । अन्धकार रुपी संसारमा ज्ञान एवं कर्मको दिब्य ज्योती प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गूरुका रुपमा रहेका पीतालाई छोराछोरीहरुले मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडा लगायतका विभिन्न वस्तुहरु दिदै बुबाको सम्मान गर्ने गर्दछन् । कुशे औशीका दिन आफ्ना बाबुको सम्मान गरिने परम्परा छ । यो दिन बाबु हुनेहरुले आफ्ना बुबाको योगदानको कदर गर्दै सम्मान गर्ने गर्छन् । बाबु नहुनेले भने दिवङ्गत पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर एवं पिताप्रति आदर सम्मान गर्ने गर्दछन् । बुवालाई पिता, बाबा, तात ड्याडी, पापआदि शब्दले पनि चिनिन्छ । यो दिनलाई अर्को शब्दमा पीतृऔंसी, पीतृदिवस, गोर्कण औंसी, कुशे औंशी आदि पनि भनिन्छ ।

आमापछिको द्वितिय गुरुका रुपमा शास्त्रले बर्णन गरेको छ । महत्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पीतालाई संरक्षण गर्ने, रक्षा गर्ने र पालनपोषण गर्ने चरित्रका रुपमा शास्त्रमा उल्लेख छ । औशीका दिन आफूलाई कर्म दिने बुवाको मुख हेर्न छोराछोरीहरू बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । तर गत वर्षदेखि भने कोरोना महामारीका कारण धेरै सन्तानहरु बुबा भएको ठाउँमा पुग्न सकिरहेका छैन् । बुबा भएको ठाउँसम्म पुग्न नसकेकाहरु आफ्ना बुवालाई टेलिफोन तथा विभिन्न सामाजिक इमेल, स्काइप, फेसबुक लगायतका विभिन्न सञ्जालमार्फत सम्झने र कुराकानी गरेर आर्शिवाद लिने तयारी गरेका छन् । घरमा रहेकाले बाबुलाई भेटेरै आर्शिवाद लिदै छन् । आफ्ना बृद्ध बुबालाई नजिकै हुनेहरु पनि कोरोना संक्रमणको खतराका कारण जान नसक्ने अवस्था आउँदा दुखी छन् । औँसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्न आवश्यक पर्ने कुश उखेलिन्छ । आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक उखेलिएको कुश वर्ष दिनसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश त्यसदिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् । कुशलाई भगवान् विष्णुको प्रतिकका रुपमा मानिन्छ । आजका दिनमा घर–घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता रही आएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update