Shittalpati
बस र भ्यान ठोक्किदा १७ मजदुरको मृत्यु

लखनऊ,भारतको उत्तर प्रदेशमा मजदुरहरु चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई मंगलबार राति कानपुर नजिक ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । निकै भयानक उक्त दुर्घटनामा परेर अरु १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

कोरोनाभाइरस महामारीको दोस्रो लहर भारतमा केही मत्थर हुन थालेपछि गाउँघर फर्किएका मजदुरहरु पुनः कामको खोजीमा निस्कन थालेका छन् । विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएसँगै बस सडकमा पल्टिएको प्रहरी अधिकृत मोहित अग्रवालले बताए । बसमा सवार मजदुरहरु पश्चिमी गुजरात प्रान्तको अहमदाबादतर्फ जाँदै थिए ।

भ्यानमा बिस्कुट बनाउने कारखानामा कार्यरत मजदुरहरु रहेका थिए । मृत्यु हुनेहरु अधिकांश भ्यानमा सवार मजदुरहरु रहेको अग्रवालले जानकारी दिए । उक्त घटनामा परेका १६ जनाको घटनास्थलमै ज्यान गएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । प्रहरी अधिकृत अग्रवालले बसमा सवार व्यक्तिहरुको भनाई उदृत गर्दै बस चालकले तिब्र बेगमा बस चलाएको गुनासो गरेको बताए । प्रहरीका अनुसार भारतमा हरेक वर्ष एक लाख १० हजारभन्दा बढी व्यक्तिको सडक दुर्घटनामा ज्यान जाने गरेको छ । अधिकांश अवस्थामा चालकको लापरवाही, सडकको कमजोर अवस्था र पुराना सवारी साधनका कारण दुर्घटना हुने गरेका छन् । (रासस/एपी)

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update