Shittalpati
स्थानीय पूर्वाधार  विकास कार्यक्रमको बजेट: पर्यटन र सडकलाई प्राथमिकता

रामचन्द्र रायमाझी
पाल्पा, संघीय सरकारबाट विनियोजन हुने स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि ६ करोड रुपैयाँका २८ योजना छनोट भएका छन् । कार्यक्रम अन्तर्गत पाल्पा निर्वाचन क्षेत्र नम्बर १ र २ मा विनियोजित बजेट अधिकांस पर्यटन र सडक क्षेत्रमा रहेका छन् । क्षेत्र नम्बर २ का सांसद सोमप्रसाद पाण्डेयले आवश्यकता पहिचान गरेर बजेट विनियोजन गरिएको बताए । उनले आफ्नो निर्वाचन क्षेत्रभित्र रहेका पाँच स्थानीय तहहरुमा २८ वटा योजनाहरु बनाएर बजेट बाडँफाड गरेका छन् । सांसद पाण्डेयले तानसेनको पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण र अन्य क्षेत्रका सडक निर्माणका लागि १० लाखदेखि ५० लाख सम्मका बजेट विनियोजन गरेका छन् । सांसद पाण्डेयले तानसेनको पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण र सडक विस्तारका लागि २ करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेका हुन् ।

उनले बगनासकाली गाउँपालिकाका विभिन्न योजनाका लागि ९० लाख बजेट विनियोजन गरेको जनाएका छन् । सांसद पाण्डेले गाउँपालिकामा सडक, शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेका हुन । त्यस्तै उनले तिनाउ गाउँपालिकका लागि सडक, पुल र खेल क्षेत्रको विकासका लागि ७० लाख बजेट छुट्याएका छन् । सांसद पाण्डेयले रिब्दीकोट गाउँपालिका भित्रका विभिन्न योजनाका लागि ६५ लाख र रैनादेवी छहरा गाउँपालिका भित्रका विभिन्न योजनाका लागि १ करोड ५० लाख बजेट विनियोजन गरेका छन् । उनले निर्वाचन क्षेत्रमा विनियोजन गरेको बजेटका विषयमा जिल्लाका पत्रकार र सरोकारवाहरु बीच सार्वजनिजक गरेका हुन् । सांसद पाण्डेले भने ‘एउटा नगर र चार वटा गाउँपालिकामा पूर्वाधार विकास साझेदारी कार्यक्रमको निर्देशिकाले व्यवस्था गरे अनुसार रकम विनियोजन गरिएको हो ।’ त्यस्तै क्षेत्र नम्वर १ का सांसद दलबहादुर रानाले पनि ६ करोडका २८ वटा योजनाहरुलाई अगाडि बढाएका छन् । सांसद रानाले तिनाउ गाउँपालिका ५ मा रहेको चर्चरे मरामकोट मोटरबाटोको स्तरोन्नतीका लागि १५ लाख, तानसेन नगरपालिका ८ गुन्द्रीखोल्सादेखि शारदा माविसम्मको बाटो पिच गर्न ७४ लाख, माथागढी गाउँपालिका ४ गढबासा मनसेबा कुम्भी मोटरबाटोको लागि १० लाख, माथागढीको वडा ३÷४ सराई सिकारकोट हर्नेटार सडक ट्रयाक खोल्नको लागि ५० लाख, रम्भा गाउँपालिका २ बेलौजा सेजु खोलाखेत पन्टार मोटरबाटोको लागि १० लाख, रम्भा ४ घ्यासिंपोखरा धाम आर्गीडाँडा व्याधी सडकका लागि २० लाख, रम्भा ५ सतिढुंगा ताहुँलिफ्ट खानेपानी आयोजनाको लागि ३० लाख बाँडफाँड गरेका छन् । उनले पूर्वखोला–देवीनगर वडा भवन निर्माण, पूर्वखोला–रिङ्नेरह–ढाक्रेवास सडक, उद्बुद्ध कलेज भवन निर्माण, निस्दी–५ ढुङ्गानाबेँसी बजार कालोपत्रे, निस्दी–अर्चलेमा लेकडाँडा पर्यटकीय गोलघर निर्माण, निस्दी–लाबेदमार जलुके सडक स्तरोन्नती लगायतका विभिन्न विकास निर्माणका लागि बजेट विनियोजन गरेको बताएका छन् ।

यस्तै निस्दीको झिरुवास खेलमैदान निर्माण, रामपुर–६ गैटारको सामुदायिक भवन निर्माण, रामपुर खोप्टारको रजघरा मोटरबाटो नाली तथा स्तरोन्नती, गेझा रामपुर टोक्से पलेङ्मा मोटरबाटो ट्र्याक खोल्ने काम, रामपुर–९ को जनशान्ति मावि सभाहल क्रमागत, रामपुर खालीवन देउराली विद्युत फलामे पोलका लागि, रामपुर किसानबारी मोहटी सर्पराज विक्रम्दी मोटरबाटो, रामपुर–४ को भालुआँप, बसपार्क निर्माणका लागि योजनाहरु अगाडि बढेका छन् । पूर्व भूमिसुधार मन्त्री समेत रहेका सांसद रानाले स्थानीयको मागको आधारमा योजनाहरु विनियोजन गरिएको जानकारी दिए । जिल्लामा स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत दुवै सांसदले विनियोजन गरेका बजेट सार्वजनिक गरेपछि जिल्लावासीहरुले बजेट टुक्रे योजनामा पारिएको बताएका छन् । उनीहरुले टुक्रे योजनालाई प्राथमिकता दिइएकाले खास उपलब्धी हासिल नहुने भन्दै बजेटको आलोचना गरेका छन् । दलीय नेतृत्वले कार्यकर्ताको इच्छालाई मात्र ध्यान दिइने गरिएकाले कार्यक्रम अन्तर्गत विनियोजन हुने रकम दुरुपयोग भइरहेको जिल्लावासीहरुले आरोप लगाएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update