Shittalpati
आजदेखि तिहार सुरु, सन्देशवाहक पंक्षी कागको पूजा गरिँदै

सीमा भट्टराई
पाल्पा । हिन्दु धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । यस वर्ष यमदीपदान बिहीबारदेखि शुरु भए पनि काग तिहार आज परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरिजयन्ती र धनतेरस पर्व पनि शुक्रबार नै परेको छ । यमपञ्चकको पहिलो दिन घर–घरमा कागको पुजा गरि मनाईदै छ । कागलाई सन्देश वाहकको पंक्षीको रुपमा पूजा गर्ने चलन चलिआएको छ ।

यमराजलाई प्रसन्न बनाउन घरमा परिवार संख्या अनुसार यम दीपदान गर्ने चलन छ । यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ, भन्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मीस्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ । कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने गरेको मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेका हुन् । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ । आज घरबाहिर विभिन्न खानेकुराहरू पात या दुना टपरीमा कागका लागी भनेर राखिन्छ र वर्षभरि कागले घरआँगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यका कुराहरु मात्र ल्याओस् भनेर कामना समेत गरिन्छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update