Shittalpati
विजय प्राविले मनायो स्वर्ण महोत्सव

इमान सिं राना
पाल्पा (रामपुर),विजय प्राथमिक विद्यालय रामपुर ७ सर्पराजले ५० औं वर्ष प्रवेशको अवसरमा स्वर्ण महोत्सव मनाएको छ । विद्यालयमा विशेष समारोहको आयोजना गरी स्वर्ण महोत्सव मनाएको हो । स्वर्ण महोत्सवको अवसरमा निर्माण गरेको स्वर्ण स्तम्भको अनावरण र प्रकाशन गरेको स्वर्ण स्मारिकाको विमोचन गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले विकासको लागि शिक्षा अपरिहार्य रहेको बताए ।

उनले नगरको शिक्षा क्षेत्रको विकासका लागि नगरपालिका प्रतिवद्ध भएर लागेको बताउँदै बालबालिकाको प्रतिभा प्रस्फुटनमा विशेष ध्यान दिन आग्रह गरे । पछिल्लो समय नगरको माथिल्लो भागमा जनघनत्व घट्दै गएकाले त्यस क्षेत्रमा मानिसहरुलाई कसरी आकर्षित गर्ने भन्ने बारेमा नगर अघि बढेको बताए । कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रमेशराज पौडेलले अहिलेको युग प्रविधि सहित प्रतिस्पर्धाको भएकाले अब व्यवहारिक शिक्षाको विकल्प नभएको बताए । कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौडेलले अहिलेको युग प्रविधि सहित प्रतिस्पर्धाको भएकाले अब व्यवहारिक शिक्षाको विकल्प नभएको बताए ।

उनले विद्यालयले गरेको प्रयासहरुको प्रशंसा गर्दै विद्यार्थी, शिक्षक र अभिभावकको सहसम्बन्धबाट नै गुणस्तर कायम गर्न सकिने बताए । उनले पाल्पामा शिक्षकहरुको दरबन्दी मिलानको तयारी भैरहेको जानकारी दिए । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्याल, जिल्ला शिक्षा समितिका सदस्य देवराज ढकाल, रामपुर नगरपालिका विशेष समन्वय समितिका सदस्य राजुप्रसाद श्रेष्ठ, जापानिज नागरिक काजुमासा काकीमी ओके बाजे, नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्रप्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका अध्यक्ष कमलराज भट्टराई, रामपुर नगरपालिका वडा १ का अध्यक्ष मित्रलाल कंडेल, बत्रकोट सामुदायिक वन उपभोक्त समूहका अध्यक्ष ऋषिराम भट्टराई, गरिमा विकास बैंक रामपुर शाखा प्रमुख रमेश ढकाल, पूर्व विद्यार्थीको तर्फबाट मोहन भट्टराई, पूर्व प्रधानाध्यापक मनोरथ भट्टराई, पूर्व विद्यालय व्यवस्थापन समितिको तर्फबाट बुद्धिराज गौतम, पूर्वशिक्षक सुकदेव पोखरेल लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना सहित विद्यालयले समुदायमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लेखबहादुर बाह्रघरेले २४ लाख रुपैयाँ भन्दा बढीको आर्थिक प्रतिवेदन सहित विद्यालयको इतिहास, वर्तमान अवस्था सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई स्वर्ण महोत्सवको अवसरमा सम्मान गरिएको थियो । साथै कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले अक्षयकोष घोषणा गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य दुर्गादेवी भण्डारी गौतमको स्वागत र शिक्षक यमबहादुर क्षेत्रीको सञ्चालनमा भएको हो ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update