Shittalpati
मनसुन सक्रिय : तीन दिन देशभर वर्षा हुने

काठमाडौं । नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई/तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताए । ‘केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ’, मौसमविद् कँडेलले भने । मौसमविद्का अनुसार यस वर्ष मनसुन बढी सक्रिय भएको छ । यस वर्ष निरन्तर वर्षा भइरहेको छ । मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले वर्षा बढी भएको बताइएको छ । शनिबार रातिबाट दुई/-तीन दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल प्रदेश नं २ मा र प्रदेश नं ५ का केही भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । त्यस्तै बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कणाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव चार र अधिकतम तापक्रम ३० दशमलव छ डिग्री सेल्सियस रहेको छ । त्यस्तै शनिबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव तीन डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव आठ डिग्री सेल्सियस
रहेको छ । –रासस

प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update