Shittalpati
मतदाता नामावली अद्यावधिक गरिदैं

पाल्पा, मतदाता नामवली अद्यावधिक गर्न लागिएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी–विरोधका लागि प्रक्रिया अगडि बढाएको छ । उसले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी–विरोधसमेत)का लागि आह्वान गरेको छ ।

उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिनेछ । नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति तोकिएसँगै निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुँदै आएको मतदाता नामावली संकलन कार्य स्थगन भएको छ ।
मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपश्चात् प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म सङ्रुकलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोध गर्न सक्ने छन् ।

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update