Shittalpati
विद्यार्थीको भविष्यमाथि त्रिविको खेलवाड

रामचन्द्र रायमाझी
पाल्पा, गत जेठ २४ गते त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा दिन गुल्मीकी जानुका पराजुली त्रिभूवन बहुमुखी क्याम्पस तानसेन परीक्षा केन्द्र पुगिन् । विहान १२ बजेदेखि सञ्चालन हुने परीक्षा दिन ११ः३० बजे नै केन्द्रमा पुगेकी पराजुली त्यहाँ परीक्षा दिने कोही पनि नदेखेपछि आफु सबै भन्दा छिटो आएको भन्दै क्याम्पस नजिकैको प्रतिक्षालयमा गएर बसिन् । समय बित्दै गयो परीक्षा दिने १/२ जना साथी बाहेक अरुलाई उनले देखिएनन् । परीक्षा दिन पुगेका अन्य दुई जना साथी आफ्नो परीक्षा दिने कोठा कहाँ परेको छ भनी हेर्न सूचना पाटीमा पुगे । पराजुली पनि परीक्षाको सिट पलानको सूचना राख्ने ठाउँमा गएर हेरिन् । तर उनले त्यहाँ परीक्षाको लागि कुनै पनि सूचना टाँस गरेको देखिनन् र हतार हतार गर्दै क्याम्पस प्रशासन पुगिन् ।

क्याम्पस प्रशासनले स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा केन्द्र बुटवल परेको जानकारी गरायो । बुटवल पुग्न उनलाई सम्भव थिएन । १२ बज्नै लागेको थियो । पराजुली क्याम्पस प्रशासनले दुई/तीन दिन अगाडि जानकारी गराउनुपर्ने भन्दै मलिन अनुहारमा कोठामा फर्किन् । उनको जेठ २४ परेको फाउण्डेसन अफ एजुकेशन (५१२) विषयको मात्र परीक्षा दिन बाँकी थियो । तर उनले त्यहि परीक्षा पनि दिनबाट बञ्चित हुनु प¥यो । पराजुली त्रिभूवन बहुमुखी क्याम्पस कै विद्यार्थी हुन् । आफु गाउँमा भएको र कही कतैबाट पनि केन्द्र बुटवल परेको भन्ने जानकारी थाहा नपाएको पीडित पराजुलीले बताइन् । उनले भनिन् ‘विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामै त्रिविले खेलवाड गरेको छ, हरेक वर्ष पाल्पामै हुँदै आएको परीक्षा एकाएक बुटवल राख्नु दुःखद् हो ।’ उनी मात्र होइन उक्त केन्द्रमा परीक्षा दिन पुगेका विद्यार्थी सबै त्यस दिनको परीक्षा दिनबाट बञ्चित भए । साउन २ गतेदेखि सञ्चालन भएको स्नातक तहको दोस्रो वर्षको पहिलो दिनको परीक्षा दिन त्रिभूवन बहुमुखी क्याम्पस पुगेका रैनादेवी छहरा गाउँपालिकाका यम कार्की पनि केन्द्र बुटवल परेकै कारण परीक्षा दिनबाट बञ्चित भए । उनी पनि हरेक वर्षका परीक्षाहरु त्रिवक्यामै हुने भएपछि परीक्षा दिन त्यही पुगे । तर त्रिविले परीक्षा केन्द्र बुटवल तय गरिदिएपछि समयमै परीक्षा केन्द्र पुग्न नसक्दा उनी पनि परीक्षा दिनबाट बञ्चित भए ।

अहिलेसम्म सबै तहका परीक्षाहरु त्रिभूवन बहुमुखी क्याम्पस तानसेनमै हुँदै आएका कारण पनि बुटवल केन्द्र तोकिदा धेरै विद्यार्थीहरु जानकारी नपाएकै कारण परीक्षा दिनबाट बञ्चित हुनुपर्‍यो । त्रिविले संघीयताको मर्म विपरित पाल्पा सहित गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी जिल्लाको परीक्षा केन्द्र बुटवलमा तोकिदिएको छ । त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गर्दै तीनवर्षे स्नातक तह विएड द्वितीय वर्ष र स्नातकोत्तर प्रथम वर्षको आंशिक परीक्षा दिने विद्यार्थीहरुको केन्द्र बुटवलमा तोकेको हो । यस अघि पाल्पा लगायतका सम्बन्धित जिल्लामा हुँदै आएको परीक्षा बुटवल तोकिदा विद्यार्थीहरु भने मारमा परेका छन् । एकातर्फ वर्षातको समयमा बुटवल जान आउन बाटोको समेत समस्या हुन्छ भने अर्कोतर्फ आफ्नो जिल्ला भन्दा बाहीर परीक्षा केन्द्र हुँदा विद्यार्थीको अनावश्यक खर्च हुने भएको छ । बुटवल परीक्षा केन्द्र राख्ने निर्णयले विद्यार्थीहरुलाई थप समस्यामा पारेको त्रिभूवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले बताए । उनले भने ‘त्रिविले केन्द्र बुटवल राख्ने निर्णय गरेपछि हामीहरुले विद्यार्थीहरुलाई बर्खाको समयमा बुटवल आउजाउ गर्न समस्या हुने भएकाले पाल्पामै राख्न आग्रह गरेका थियौ, तर केन्द्रले विद्यार्थी संख्य कम रहेकाले अहिलेलाई बुटवल राख्ने र आगामी वर्षदेखि काठमाडौंमा गर्ने बताएको छ ।’ सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको अवस्थामा त्रिविले भने विगतदेखि नै जिल्लास्तरमै सञ्चालन हुँदै आएका परीक्षाहरुलाई बाहिरबाट दिने व्यवस्था गर्नुले विद्यार्थीहरु मारमा पर्ने जिल्लाका सरोकारवालाहरु बताउँछन् । उनीहरुले विश्वविद्यालयले तत्काल निर्णय सच्चाएर जिल्ला स्तरमै केन्द्र तोकिनु पर्ने बताउँदै आएका छन् । विगतबाट नै विभिन्न लापरवाही र खेलवाडको केन्द्र बन्दै आएको त्रिभुवन विश्वविद्यालय आफ्ना कर्तुतहरू मार्फत् चर्चामा रहन्छ । यसपटक पनि परीक्षा केन्द्र निर्धारणदेखि प्रश्नपत्रमा समेत खेलवाड गर्दैै त्रिविले नालायकीपन देखाएको छ । उसको कार्यशैलीबाट विद्यार्थीहरू आहत छन्, त्यो भन्दा पनि महत्वपूर्ण कुरा प्रश्नपत्र काण्डले त्रिभुवन विश्व विद्यालयले आफ्नो शाख पनि गिराएको छ ।

त्रिविले पटक–पटक विद्यार्थीहरुको भविष्य माथि नै गम्भीर खेलवाड गर्दै गएपछि विद्यार्थी संगठनहरुले समेत अन्दोलन गर्दै आएका छन् । त्रिविले पटक पटक प्रश्नपत्र दोहो¥याएर, प्रश्नपत्र एउटा विषयको हुनुपर्नेमा अर्कै विषयको तथा अर्कै सत्रको प्रश्नपत्र उपलब्ध गराएर विद्यार्थीको भविष्य माथि खेलवाड गर्दै आएको छ । यही जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषय अन्तर्गत ‘पब्लिक इकोनोमिक्स’को प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । यसै गरी जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र पनि अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहुँ मिलेको थियो । नेपालको सबैभन्दा पुरानो त्रिविजस्तो विश्वविद्यालयले यस किसिमको घटना बारम्बार दोहो¥याइ रहँदा त्रिविकै प्रतिष्ठा माथिको विश्वास घट्दै गएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update