Shittalpati
एसईईको नतिजा सार्वजनिक

पाल्पा, राष्ट्रिय परीक्षा बोर्डले २०७८ को एसईईको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले पत्रकार सम्मेलन गरी एसईई २०७८ को नतिजा सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक गर्नुअघि बुधबार दिउँसो नै परीक्षा बोर्डको बैठक बसेको थियो । कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरे पनि यस पटक बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । यसपटक कोभिड महामारीको दुई वर्षपछि मात्रै बोर्डले परीक्षा सञ्चालन गरेको हो । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् ।

परीक्षामा २२ हजार ६४० परीक्षार्थी परीक्षामा अनुपस्थित भएका थिए । ३ हजार २ सय ८० विद्यार्थीले ०.८ देखि १.२ जीपीए ल्याएका छन् । त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५ सय ८६ रहेको छ भने १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख ५९४ रहेको छ । त्यस्तै २.० देखि २.४ जीपीए एक लाख १२ हजार ७३३, २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या ९० हजार ५ सय ९८ जना रहेको छ । त्यस्तै ६९ हजार विद्यार्थीले २.८ देखि ३.२ जीपीए ल्याएका छन् भने ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६ सय २७ रहेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ रहेको छ ।

वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । एसईईको नतिजा Result लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर राखी ३५००१ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update