Shittalpati
मंसिर १० देखि माथागढीका विद्यालय खुल्ने

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु मंसिर १० देखि सञ्चालन हुने भएका छन् । सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेसँगै गाउँपालिकाले स्वास्थ्य मापदण्डहरु पूरा गरी विद्यालय खोल्ने भएको हो । गाउँपालिकाको शिक्षा समितिको आइतबारको बैठकले नियमितरुपमा विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड १९ का कारण चैतदेखि बन्द रहेका विद्यालयहरु स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले भने ‘जनस्वास्थ्य प्रोटोकल पालना गर्दै विद्यार्थीलाई भौतिक रूपमै कक्षाकोठामा शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराउने गरी पठनपाठन सुरु गर्न लागेका हौं ।’ विद्यालयले पठनपाठन सञ्चालन गर्दा अनिवार्यरुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने व्यवस्था मिलाउनु पर्ने छ यति त्यस्तो गरे नगरेको समेत अनुगमन गरिने अध्यक्ष थापाले बताए ।

बैठकले विद्यालयको विद्यार्थी संख्यालाई मध्यनजर गरी विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराई सम्बन्धित वडाबाट विद्यालय सञ्चालनको स्वीकृति लिई सञ्चालन गर्न सकिने व्यवस्था मिलाएको छ । विद्यालयमा अनिवार्य रुपमा साबुन पानीले हात धुने, स्यानीटाइजर प्रयोग गर्ने, मास्क लगाउने र एक अर्का बिचमा दुरी कायम गर्ने व्यवस्था मिलाउने, सवारी साधन सञ्चालन गर्न चाहने विद्यालयले स्वास्थ्य सुरक्षाका सम्पूर्ण आधारभूत मापदण्डहरु अनिवार्य पालना गरी विद्यार्थी ल्याउने लैजाने व्यवस्था गर्नुपर्ने, सम्भव भएसम्म खाजा नास्ता घरबाट ल्याउन प्रेरित गर्ने, खाजा बाँडेर खाने प्रवृत्ति निरुत्साहन गर्ने, रुघा, खोकी, मौसमी फ्लु ज्वरो लक्षण देख्रिएमा साथै घरमा कसैलाई कोभिड–१९ पोजेटिभ भएमा त्यस्ता बालबालिकाहरुलाई सुरक्षित रुपमा विद्यालयमा नआई घरमै बस्ने व्यवस्था मिलाउने, पठनपाठन बाहेकका अन्य क्रियाकलाप हाललाई नगर्ने/नगराउने निर्णय गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । कोरोना भाइरस संक्रमणको महामारीमा विद्यार्थीको स्वास्थ्य जोखिममा पर्ने भएकोले चैत ५ गतेदेखि नै देशभरका विद्यालय बन्द छन् । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय खोल्ने र यसको जिम्मेवारी स्थानीय सरकारलाई नै दिएकाले पनि पाल्पाका स्थानीय सरकारहरुले धमाधम विद्यालय खोल्ने निर्णय गरेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका र निस्दी गाउँपालिकाले पनि यस अघि विद्यालय खोल्ने निर्णय गरिसके ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update