Shittalpati
नदीजन्य पदार्थको चोरी निकासी रोक्न आग्रह

खस्यौली । प्रदेश पाँचको अर्थ,उद्योग तथा पर्यटन समितिले खानी उत्खनन र नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रदेश सरकारलाई आग्रह गरेको छ । समितिका सभापति दधिराम न्यौपानेको अध्यक्षतामा बुटवलमा बसेको बैठकले खानी तथा नदीजन्य पदार्थको व्यवस्थापन र सदुपयोग भए त्यसबाट समृद्धि हासिल गर्न सकिने जनाएको छ ।

बैठकले खानी उद्योगको पहुँचमार्ग वैकल्पिक हुनुपर्नेमा जोड दिएको समितिका सभापति न्यौपानेले बताए । उनले प्राकृतिक स्रोत र साधनको जथाभावी दोहन रोक्न आग्रह गर्दै नदीजन्य पदार्थको चोरी निकासी रोक्न सके त्यसबाट राजश्वसमेत वृद्धि हुने बताए । नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्रीले पर्यटनसम्बन्धी विषय कार्यान्वयन भएको वा नभएको विषयमा अनुगमन आवश्यक भएको बताइन् । समितिका सदस्य तुलसी चौधरीले प्रहरी भएकै अवस्थामा शुद्धोधन गाउँपालिकाको दर्वाह उद्यानमा भएको तोडफोडको जानकारी दिँदै पर्यटन प्रवद्र्धनलाई प्रभावकारी बनाउन आवश्यक भएको बताए । सदस्य तुलाराम घर्तीमगरले खानी उत्खनन गर्दा पहुँचमार्ग निर्माण भए पहिरो जाने समस्या नहुने उल्लेख गर्दै उद्योगका लागि पहुँचमार्ग अनिवार्य छ भने । बैठकमा प्रदेशसभाका सदस्य कृष्ण न्यौपाने, कृष्णा केसी, सुनिता ठठेर, थामकुमारी थापालगायतले विभिन्न विषयमा सुझाव दिएका थिए ।    -रासस

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update