Shittalpati
रामपुर ७ का कृषकलाई करेला र घिरौलाको विउ वितरण

इमान सिं राना
पाल्पा (रामपुर) । जिल्लाको रामपुर नगरपालिकाले तरकारीमा अत्मनिर्भर गराउने उद्देश्यका साथ एक वडा एक उत्पादनलाई प्राथमिकता दिएको छ । जस अनुसार वडाहरुले फरक फरक किसिमको तरकारी उत्पादनमा प्रोत्साहनका लागि कार्यक्रम सञ्चालन गरेका छन् । यता वडालाई करेला र घिरौला खेती मार्फत चिनाउने लक्ष्य लिएको रामपुर नगरपालिका ७ ले कृषकहरुलाई विउ वितरण गरेको छ । कृषि क्षेत्र सहभागीता मूलक कार्यक्रम अन्तर्गत वडाले करेला र घिरौलाको विउ वितरण गरेको हो ।

पहिलो चरणमा प्रतिघर ५ वटा करेला र ५ वटा घिरौलाको विरुवा अनिवार्य रहने गरी विउ वितरण गरेको छ । टोल संयोजकहरुलाई विउ वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अघिकांश रोग खानपानबाट उत्पन्न हुने बताउँदै आफ्नो स्वास्थ्यका लागि आवश्यक स्वच्छ तरकारी फलाएर खान आग्रह गरे । उनले कृषकहरुलाई मध्यनजर गर्दै नगरले कार्यक्रमहरु सञ्चालन गरेको बताउँदै रामपुर आफैमा उर्वरभूमी रहेकाले अन्यत्र पनि निर्यात हुने गरी व्यवसायिक रुपमा अघि बढ्न अनुरोध गरे ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले एक वडा एक उत्पादनलाई मध्यनजर गर्दै नगरले कृषिमा प्राथमिकता दिईएको बताए । उनले कृषि क्षेत्रको सम्भावना र कृषकहरुको हौसलाको लागि आवश्यक प्राविधिक खटाईएको बताए । कार्यक्रममा रामपुर नगरपालिका कृषि शाखाका कृषि प्राविधिक प्रज्वल केसी, किसान एग्रोभेटका सञ्चालक सूर्य भट्टराईले प्राविधिक ज्ञानका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा कवर्डहल टोल विकास समितिका संयोजक गौतम बहादुर सुनारले वडाले चालेको अभियानमा कृषकहरुले साथ दिने बताए । वडा नं. ७ का वडा सदस्य कमलराज भट्टराईले वडा भित्रका १४ टोल विकास संस्थाका ८ सय ५१ घरलाई विउ वितरण गरिने बताए । रामपुर नगरपालिका वडा नं. ७ का कार्यवाहक वडा अध्यक्ष दुर्गादेवी भण्डारी गौतमको स्वागत,वडा सचिव गिता पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update