Shittalpati
जनताको सेवा नै मेरो स्वार्थ हो : मन्त्री राना

रामचन्द्र रायमाझी
पाल्पा, लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले आफ्नो कुनै पनि लोभ र स्वार्थ नभएको बताएका छन् । मंसिर ४ गते भएको प्रदेश सभाको निर्वाचनबाट पाल्पा क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्यमा विजयी भएका रानाले आफ्नो लोभ र स्वार्थ नभएको केवल जनताको सेवा नै आफ्नो स्वार्थ भएको बताएका हुन् । विहीबार नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको गठबन्धनका विजयी उम्मेदवारलाई बधाई तथा शुुभकामना प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले भने‘ मेरो कुनै लोभ र स्वार्थ छैन् छ त केवल जनताको सेवक बन्ने ।’ उनले आफुु जनताको सेवकका रुपमा राजनीतिमा लागेको भन्दै कुुनै लोभ र स्वार्थमा नलागी निरन्तर जनता र संगठन निर्माणमा अगाडि बढेको बताए । ‘मेरो हिजो पनि कुुनै लोभ र स्वार्थ थिएन् आज पनि छैन र भोली पनि हुँदैन्’ उनले भने । रानाले अहिले संघीय सांसदको उम्मेदवारमा आफ्नो दावी रहे पनि पार्टीको निर्णयलाई सहजै स्वीकार गरेको बताए । उनले भने ‘मैले हिजो संघीय सांसद्को उम्मेदवारीको रुपमा टिकट पाउनुुपथ्यो त्यो मेरो दावी थियो, जिल्ला र क्षेत्रबाट पनि सिफारिस भएकै हो,तर पार्टीले जहाँ राख्छ त्यो ठाउँमा बस्नुपर्ने हुुन्छ, पार्टीको राजनीतिक गर्ने व्यक्ति पार्टीको नीति नियय अनुसार चल्नुपर्छ, राजनीतिमा लागेपछि एकल आफ्नो इच्छाले नहुुँदो रहेछ । म टिकट लिन पनि नगएको हो । मेरो टिकट यही आएको हो नि त ! तर पार्टीले गरेको निर्णयलाई सहजै स्वीकार गरेको हुँ । धेरै साथीले मप्रति चिन्ता व्यक्त गर्नुहुन्छ तर मैले सबै साथीहरुलाई अवसर दिनुपर्छ भन्ने सोचे तर अहिले ति साथीहरु एक आपसमा प्रतिशोध साँधेर बस्नुुहुन्छ, यसमा दुख लाग्छ । राजनीतिक गर्नेहरुले विना स्वार्थ फराकिलो मन बनाउनुुपर्छ ।’

मन्त्री रानाले पार्टीको निर्णय अुसार नै प्रदेश सभामा उम्मेदवारी दिएको बताए । उनले जहाँबाट भए पनि जनताको सेवा गर्नुपर्छ भन्ने सोंच आफ्नो रहेको उल्लेख गरे । उनले भने ‘राजनीतिमा लागेपछि समय र सम्पति गएको पनि थाहा नहुँदो रहेछ । यो अचम्मको नशा हुँदो रहेछ । राजनीतिमा लागियो, त्यो नशा लागेको हिसावले पनि जनतालाई कुनै पनि चोट पुुग्ने काम गर्दिन् ।’ मन्त्री रानाले आफु एक पटक जनताबाट अनुमोदन हुन चाहेको र सोही अनुुरुप अहिले आफु जनताबाट अनुमोदन भएको उल्लेख गरे । उनले भने ‘२०७० को चुनावमा झिनो मतले पराजित हुन पुुगे, २०७४ मा टिकट नपाएको पिडा, समानुुपातिकमा भए पनि राखिएको थियो, अहिले कुनै न कुनै हिसावले संघमा चाहाना त थियो तर, पार्टीको निर्णय अनुसार प्रदेशमै भए पनि जनताबाट अनुुमोदन भएर जनताको काम गर्ने अवसर पाएको छु, त्यो अवसरलाई त्यत्तिकै खेर जान दिने छैन ।’

निर्वाचनमा कुनै व्यक्ति वा दलले नभई लोकतन्त्रको जित भएको उनले बताए । उनले भने, ‘यो कुनै व्यक्ति तथा पार्टीको नभएर लोकतन्त्रको जित हो, लोकतान्त्रिक प्रणालीको जित हो ।’ उनले आफू पनि सो क्षेत्रबाट जनताको अमूल्य मतका आधारमा निर्वाचित भएको र यो निर्वाचनलाई आफूले काँधमा आएको अभिभाराका रुपमा लिएको बताए । उनले प्रदेश र मुलुुकलाई निकास दिन राजनीतिक स्थायित्वको जरुरी भए पनि कुनै दललाई बहुमत नआएको बताउँदै उनले अहिलेको जनादेशलाई नै स्वीकार गरेर त्यसअनुरुप नै अगाडि बढ्ने बताए । फरक प्रसंगमा मन्त्री रानाले लोकतन्त्र ल्याउन पत्रकारहरुले खेलेको भुमिका महत्वपूर्ण रहेको बताए । उनले भोलिका दिनमा पनि सशक्त रुपमा भट्राचार, अनियमिताका रुपमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । उनले प्रेस युनियनको संस्थागत विकासमा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले युनियनको आफ्नै भवन निर्माण गर्न पनि आफ्नो सहयोग रहने बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले विकास र समृद्धिको दिशामा काम गर्ने नेतालाई नै जनताले पत्याएको बताउँदै काम गरेकै कारण राना जनताबाट अनुमोदन भएको उल्लेख गरे । उनले नवनिर्वाचित रानालाई काँग्रेस, माओवादीबाट मात्र नभई एमालेबाट पनि अमूूल्य मत प्राप्त भएको बताए । नेपाली काँग्रेस पाल्पाका उपसभापति तथा युनियनका सल्लाहकार झपेन्द्र गहिरेले पाल्पा र पाल्पावासीले विकासप्रेमी र उर्जावान व्यक्ति प्रदेशमा पाएको उल्लेख गर्दै कार्यकारी पदमा पुुग्न समेत रानालाई शुुभेच्छा प्रकट गरे । नेपाली काँग्रेस गुल्मीका सचिव तथा युनियनका सल्लाहाकार जगदीश भट्टराईले प्रदेशको विकासमा रानाले खेलेको भूमिका अत्यन्त प्रंसनिय रहेको उल्लेख गर्दै भोलि प्रदेशकै मुुख्य जिम्मेवारीका रुपमा सबैले हेर्न चाहेको बताए । युनियनका सभापति भरत शर्माले स्वच्छ छवि र उर्जावान नेता पाल्पा र प्रदेशले पाएकोमा गर्व गरे । सभापति शर्माको अध्यक्षता, उपसभापति मन गहिरेको स्वागत, सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update