हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी यो दिवस मनाउन थालिएको हो । पर्यटन केवल घुमफिर र मनोरञ्जनको माध्यम मात्र होइन, यो रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवद्र्धन, सांस्कृतिक आदान–प्रदान र आर्थिक विकासको महत्वपूर्ण आधार हो । प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न नेपालका लागि पर्यटन अझ विशेष महत्वको क्षेत्र हो ।
नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृंखलाहरू, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत शान्तिप्रिय बुद्धभूमिका शालीन हामी नेपालीहरू नै नेपालको गहना हो । तर गहनाहरुको उचित संरक्षण र प्रचार प्रसार हुन सकेको छैन् । नेपाल हिमाल, पहाड र तराईको विविध भूगोलसँगै अनेकौँ जातजाति, भाषा, संस्कृति, कला, परम्परा र ऐतिहासिक सम्पदाले समृद्ध छ । सगरमाथादेखि लुम्बिनी, पोखरादेखि चितवन र जनकपुरदेखि मुस्ताङसम्मका गन्तव्यले नेपाललाई विश्व पर्यटनको नक्सामा स्थापित गरेका छन् । तर यति ठूलो सम्भावना हुँदाहुँदै पनि पर्यटन क्षेत्रले अपेक्षित गति लिन नसक्नु चुनौतीको विषय हो । पर्यटन प्रवद्र्धनका लागि केवल आकर्षक गन्तव्य हुनु पर्याप्त हुँदैन । गुणस्तरीय सडक तथा हवाई पूर्वाधार, सुरक्षित र भरपर्दो यातायात, स्वच्छ वातावरण, पर्यटकमैत्री सेवा, दक्ष जनशक्ति र प्रभावकारी प्रचार–प्रसार आवश्यक हुन्छ । त्यसैगरी पर्यटकीय क्षेत्रमा फोहोर व्यवस्थापन, प्राकृतिक सम्पदाको संरक्षण र स्थानीय संस्कृतिको सम्मानलाई पनि प्राथमिकतामा राख्नुपर्छ । नेपालको पर्यटन विकासमा स्थानीय समुदायको सहभागिता झनै महत्वपूर्ण छ । पर्यटनबाट हुने आम्दानीको लाभ स्थानीय बासिन्दासम्म पुग्न सकेमा यसले रोजगारी र उद्यमशीलता बढाउनुका साथै गाउँ–गाउँको आर्थिक गतिविधिलाई चलायमान बनाउन सक्छ । कृषि, हस्तकला, घरेलु उत्पादन, मौलिक परिकार र स्थानीय संस्कृतिलाई पर्यटनसँग जोड्न सके पर्यटनको लाभ अझ व्यापक बनाउन सकिन्छ । त्यसैगरी अबको पर्यटन विकास वातावरणमैत्री र दिगो हुन आवश्यक छ । नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र मौलिक पहिचानलाई जोगाउँदै विश्वभरका पर्यटकका लागि सुरक्षित, आकर्षक र जिम्मेवार गन्तव्यका रूपमा नेपाललाई स्थापित गर्न सरकार र सम्बन्धित निकायबाट अब ठोस कदम चाल्न जरुरी छ ।

