Shittalpati
माधव समूह पार्टी एकता गर्न नआए अब कुरेर नबस्ने : नेता ज्ञवाली

कृष्ण पोखरेल
पाल्पा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवालीले माधव नेपाल समूह पार्टी एकता गर्न नआए अब कुरेर नबस्ने बताएका छन् । उनले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशाअनुसार नै पार्टी एकता हुने र एकहप्ता भित्र पनि माधव कमरेड लगायतका साथीहरु तत्काल नआएमा कुरेर नबस्ने बताए । नेकपा (एमाले)का प्रवक्ता तथा स्थायी कमिटी सदस्य समेत रहेका ज्ञवालीले पाल्पाको तानसेनमा पार्टी अगुवा कार्यकर्तालाई सम्वोधन गर्दै उहाँहरु जुन दिन पार्टीमा फर्किनुहुन्छ सोही दिन पुरानै जिम्मेवारी दिने तर अब कुरेर बस्ने स्थिति भने नरहेको उल्लेख गरे । उनले एक एकहप्ता भित्र पार्टी एकताको टुङ्गो लागि सक्ने समेत बताए ।

नेता ज्ञवालीले केही व्यक्तिको अहमताले पार्टीलाई कमजोर बनाउने र गठबन्धन सरकारसँग सहयात्रा गर्दै पार्टी प्रणालीलाई नै कमजोर बनाउने खेल खेलेको टिप्पणी गरे । उनले अस्वभाविक गठबन्धनबाट निर्माण भएको वर्तमान सरकार निर्माण हुनुमा पनि एमालेभित्रका केही ठूला नेताको मुख्य भूमिका रहेको बताए ।

विपक्ष दलको नेतालाई सरकार प्रमुख बनाउदासम्म पनि पार्टी एकता जोगाउन वर्तमान पार्टी अध्यक्षले भूमिका खेल्दासम्म एकता गर्न नआउनु भनेको एकता नचाहेको अर्थ बुझिने नेता ज्ञवालीको भनाई छ ।फरक प्रसंगमा उनले वर्तमान सत्तापक्ष गठवन्धनले नेकपा एमालेलाई कमजोर बनाउने, फुटाउने, राष्ट्रिय राजनितिमा भूमिका विहिन बनाउने, विभिन्न प्रलोभन दिएर सांसद खरिद विक्रि गर्ने, सांसदहरुलाई निष्क्रिय बनाउने फोहोरी अनैतिक काम गरेको आरोप लगाए । सत्ता गठबन्ध दलको एउटै चाहाना एमालेलाई कमजोर बनाएर राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा लैजाने रहे पनि एमालेले त्यसो हुन नदिने प्रवक्ता ज्ञवालीले जिकिर गरे ।

सर्वाेच्च अदालतले गरेको फैसला गलत, संविधान विपरित, संविधानको अपव्याखा भएकाले कार्यकर्ताहरुलाई गाउँ–गाउँमा पुगी भण्डारफोर गर्न नेता ज्ञवालीले निर्देशन दिएका छन् । जनताको जनमत लिनु संविधान विपरित, सर्वाेच्चका न्यायधिसबाट प्रधानमन्त्री नियुक्त हुने संविधान संवत भन्ने कुरा भ्रमपूर्ण रहेको उनको भनाई छ । संविधानको धारा ७६ को ५ मा राजनीतिक दलमा संसदीय दलको नेता भन्दा,फरक व्यक्तिले सरकारको नेतृत्व गर्ने कुरालाई उल्लेख गरिए पनि, सर्वाेच्च अदालतको निर्णयले निर्दलीय व्यवस्था बनाएकाले सच्चाई बहुदलिय व्यवस्था कायम नहुँदासम्म पार्टीले आन्दोेलनका कार्यक्रम सञ्चालन गर्ने, भण्डाफोर गर्ने, जनचेतना अभियान सञ्चालन गर्ने नेता ज्ञवालीले बताए ।

‘माधव कमरेडले लोक र दुनियाँलाई हसाउने काम गर्नुभएको छ, नेकपा एमाले प्रतिपक्षमा छ र एमालेका बरिष्ठ नेता सत्ता गठवन्धनको प्रमुख नेता हुनुहुन्छ, यो कही नीति, नियम, पार्टी पद्धती अनुसार हुन्छ ? पार्टीका कार्यकतालाई नीति नियम सिकाउने तर आफैले नीति नियम विपरित काम गर्ने ? यस्तो हुँदा पनि पाटी एकताको लागि अन्तिम सम्म प्रयास जारी रहने छ ।’ नेकपा एमाले पाल्पाका कार्यकर्ताहरुले भने रिस राग छोडेर पार्टी एकता गर्न जोड दिएका थिए । भेटघाट कार्यक्रमको सञ्चालन नेकपा (एमाले)का नेता धनेन्द्रराज घिमिरेले गरेका थिए ।

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update