Shittalpati
नयाँ जनादेशका लागि निर्वाचन घोषणा अग्रगमन : पोखरेल

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रतिनिधिसभा विघटन गर्दैमा प्रतिगमन नहुने बताएका छन् । उनले संसद् विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनको मिति तोक्ने काम अग्रगमन भएको बताएका हुन् ।

नेकपा अर्घाखाँचीले सन्धिखर्कमा शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रतिनिधिसभा विघटन हुँदैमा संघीयता, गणतन्त्र केही खारेज नहुने स्पष्ट पारे । उनले भने, ‘राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकारमात्र हैन कुनै संवैधानिक अहरु समेत विघटन नभएको अवस्थामा प्रतिनिधिसभा विघटन हुँदैमा लोकतन्त्र मासियो भनेर भन्नु अनुचित हो ।’ उनले पूर्वप्रधानमन्त्री माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डहरुलाई निर्वाचनमा जान डराएको आरोप लगाए । पोखरेलले निर्वाचन आयोगमा पुगेर निर्वाचनका काम अगाडि नबढाउन आग्रह गर्नुले निर्वाचनमा जान डाराएर देखिएको आरोप लगाए । यस्तै ऊर्जा, सिंचाई तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले लोकतन्त्र र संघीयता बचाउन संसद् विघटनको विकल्प नभएको बताएका छन् । उनले उपलब्धिको रक्षा गर्न सबैभन्दा उत्कृष्ट बाटो नै प्रतिनिधिसभाको विघटन गरी निर्वाचनको मिति तय गरेको समेत बताए ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री रायमाझीले प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री र पार्टी अध्यक्ष नभई नहुने भएपछि पार्टी विभाजनको अवस्थामा पुगेको बताए । उनले भने, ‘कुनै सिद्धान्त र नीतिभन्दा पनि पद र कुर्चीका लागि पार्टी विभाजनको अवस्थामा पु¥याएका छन् ।’ कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री तथा नेकपाका नेता मणि थापा, राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का लगायतले कार्यकर्तालाई निर्वाचनमा लाग्न निर्देशन दिएका थिए । –रासस

प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update