Shittalpati
नेपाली काँग्रेस गुल्मीको आन्दोलनको कार्यक्रम स्थगित

गुल्मी । नेपाली काँग्रेस गुल्मीले आफ्ना कार्यकर्ता कुटपिटमा संलग्नलाई कानुन अनुसार कारवाही गर्न जिल्ला प्रशासन कार्यालय सहमत भएपछि नेपाली काँग्रेसले आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । मंगलबार भएको वार्तामा आफ्ना कार्यकर्ता कुटपिटमा संलग्नलाई कानुन अनुसार कारबाही गर्न गुल्मी प्रशासन सहमत भएपछि नेपाली काँग्रेसले धर्ना कार्यक्रम स्थगित गरेको हो । केही दिनअघि रेसुङ्गा नगरपालिका वडा १२ मा रहेको रानीपोखरी निमाविको भवन निर्माणका विषयमा नेकपा र काँग्रेस कार्यकर्ता बीच विवादका क्रममा नेकपाका कार्यकर्ताले काँग्रेसका कार्यकर्ता कुटपिट गरेर घाइते बनाएको काँग्रेसको दावी छ । काँग्रेसले आफ्ना कार्यकर्ता कुटपिट गर्नेहरूलाई प्रहरीले पक्राउ नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको थियो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल, नेकपा र काँग्रेस नेता बीच भएको छलफल पछि रेसुङ्गा नगरपालिका वडा १२ स्थित रानीपोखरी निमाविको नियमअनुसार भवन निर्माण सुचारु गर्ने र कुटपिटमा संलग्नलाई कारबाही गर्ने सहमतिपछि धर्ना तथा विरोध कार्यक्रम मंगलबार दिउँसो स्थगित भएको नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले जानकारी दिए ।

किटानी सहित जाहेरी दिँदापनि प्रहरीले कुटपिटमा संलग्नलाई कारबाही नगरेपछि काँग्रेसले सोमबार जिल्ला प्रशासनमा धर्ना दिएको थियो । धर्नामा प्रहरी र काँग्रेस कार्यकर्ताबीच झडप हुँदा जिल्ला सभापति भुवन श्रेष्ठ, पूर्णबहादुर केसी र प्रहरी घाइते भएका थिए । कांग्रेसले मंगलबार पनि तम्घासमा विरोध ¥याली निकालेर प्रशासन गेटमा धर्ना दिएको थियो । स्कुलको भवन नियम अनुसार निर्माण गर्ने र काँग्रेस कार्यकर्ता कुटपिटमा संलग्न रहेकालाई कारबाही गर्ने सहमतिपछि धर्ना कार्यक्रम स्थगित भएको सचिव पन्थीले बताए । कुटिएका दुई जना कार्यकर्ताको उपचार खर्च उपलब्ध गराउने र काँग्रेस कार्यकर्ता कुटेर घाइते बनाउने ७ जनालाई बुधबार नै नियन्त्रणमा लिएर कारबाही गर्न प्रमुख जिल्ला अधिकारी तयार भएपछि विरोध कार्यक्रम स्थगित गरेको पन्थीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले नियम अनुसार भवन बन्ने र कुटपिट गर्नेलाई कानुन अनुसार कारवाहीका प्रक्रिया अघि बढाइने बताए ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update