Shittalpati
कोरोनाको संक्रमणबाट बच्न रामपुर नगरपालिकाले माक्स उत्पादन गर्ने

इमान सिं राना
पाल्पा (रामपुर) । पाल्पाको रामपुर नगरपालिकाले विश्वभर महाभारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट बचाउनका १० हजार माक्स तयार गरी वितरण गर्ने भएको छ ।

कोरोना भाईरसको उपचारभन्दा पनि संक्रमण हुन नदिने महत्वपूर्ण भएको भन्दै अन्य सचेतनाका कार्यक्रमसंगै माक्स तयार गरेर वितरण गर्ने भएको हो । नगरपालिकाले कालीगण्डकी मल्टी टेक्निकल इन्स्टिच्युटसंग सहकार्य गरी माक्स तयार गर्ने जनाएको छ । त्यस्तै कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि रामपुर नगरपालिका स्वास्थ्य शाखाले सरोकारवालाहरुसंग छलफल गरी पूर्व तयारीका बारेमा अन्य निर्णय समेत गरेको छ ।

रामपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुख, विद्यालयका प्रधानाध्यापक, पत्रकार लगायत सरोकारवालाहरुको सहभागितामा रहेको कार्यक्रम पश्चात नगरले भाईरसबाट बच्न तथा महामारी फैलिहालेमा नगरबासीलाई संक्रमणबाट जोगाउन प्रभावित क्षेत्रबाट आउने यात्रुहरुको स्वास्थ्य परीक्षणसंगै उनीहरुलाई शिक्षा र स्वास्थ शाखाको समन्वयमा क्वारेन्टाईनमा राख्ने, रामपुर अस्पतालमा तत्काल ५ बेडको आईसोलेशनको व्यवस्था गर्ने, बजारमा हुन सक्ने मुल्यवृद्धि तथा माग र आपूर्ति सन्तुलन कायम गर्न बजार अनुगमन गर्ने र सूचना प्रशारण तथा जनचेतना तिव्ररुपमा फैलाउने निर्णयहरु गरेको छ ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगरप्रमुख सारा विश्व कारोना विरुद्ध लागि परेको अवस्थामा महामारी आईहाले नगरपालिकाले मात्र केही गर्न नसक्ने भएकाले आफै सजग रहनु महत्वपूर्ण रहेको बताए । उनले नगरबासीलाई नआत्तिन आग्रह गर्दै आत्मविश्वास जगाएर अघि बढ्नु आवश्यक रहेको बताए । कार्यक्रममा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्य, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिमबहादुर कार्की, रामपुर नगरपालिकाका सल्लाहकार देवराज ढकाल, रामपुर अंग्रेजी आवासीय विद्यालयका प्रिन्सिपल अनन्त भण्डारीले बोल्दै स्वयम सचेत हुनु आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा रामपुर अस्पतालका डाक्टर विजय परियारले कोरोना भाइरस सर्ने कारण, देखिने लक्ष्यण, बच्ने उपाय, पूर्व तयारीका बारेमा जानकारी दिएका थिए । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले भाईरसको विशेष उपचार नभएको भन्दै संयमता, धर्यता र आत्मविश्वास नै महत्पूर्ण हुने बताए । प्रमुख प्रशासकीय अधिकृत अर्यालको अध्यक्षतामा कृषि सेवा केन्द्रको हलमा भएको कार्यक्रम स्वस्थ्य शाखा संयोजक तिर्थप्रसाद ढु·ानाको सञ्चालनमा भएको हो ।

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update