Shittalpati
औपचारिकतामा कर दिवस

पाल्पा, यस वर्षको कर दिवस देशभर विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि सम्मानका कार्यक्रम गरी कर दिवस मनाइएको हो । एक आर्थिक वर्षभित्र विभिन्न क्षेत्रबाट सरकारलाई बढी कर बुझाउने उद्योगी–व्यवसायी र संघसंस्थालाई सम्मान गरेर दिवसको औपचारिकता पूरा गरिएको छ ।

समग्र कर प्रशासनलाई सुधार गरी यसको दायरा फराकिलो पार्नु कर दिवसको मूल उद्देश्य हो । तर दिवसले उद्देश्यलाई नै छुन सकेको छैन । हरेक वर्ष उद्योगी–व्यवसायीको सम्मान गरेर मात्र यो दिवस मनाइन्छ । पछिल्लो समय कर प्रशासनमा देखिएको खेलाँचीले दिवसको नै खिल्ली उडाएको छ । पछिल्ला वर्षहरूमा राजस्व चुहावटका घटनाहरू बढ्दै गएका छन् । तर, त्यसअनुसारको अनुसन्धान गरी चुहावटलाई रोक्ने यथेष्ट प्रयास भएको देखिँदैन । आम्दानीका मुख्य स्रोत मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, भन्सार महशुल र अन्तःशुल्क सबैमा समस्या आएको छ । राजस्वको सबैभन्दा ठूलो स्रोत भ्याटमा दिनहुँ छलीका घटना दोहोरिँदा पनि सरकार र सम्बन्धित निकायको ध्यान गएको देखिदैन । नक्कली भ्याट बिल बनाएर राजस्व छल्नुलाई नक्कली नोटको कारोबार गरेजस्तै अपराध मानिन्छ । पछिल्ला वर्षहरूमा नक्कली भ्याट बिलको कारोबारले तीव्रता पाएको छ ।

कर दिवसका अवसरमा कर चुहावटका सन्दर्भमा पनि गम्भीर समीक्षा गर्नुपथ्यो तर त्यो हुन सकेको छैन । आमबुझाइमा ठूला घरानाले कर तिर्दैनन्, तिरे पनि कम तिर्छन्, केवल साना करदाताले मात्र तिर्नुपर्छ भन्ने धारणा सुनिन्छ । अर्कोतिर कर निर्धारणमा कर्मचारीले प्रयोग गर्ने स्वविवेक र अवाञ्छित मनसायका कारण पनि मुलुकले कतिपय ठूला करदाताबाट अपेक्षित कर उठाउन नसकेका घटना सार्वजनिक भएका सन्दर्भलाई पनि कर दिवसका अवसरमा समीक्षा गर्दै सुधार गर्नु अहिलेको आवश्यकता हो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update