Shittalpati
फेरि उकालो लाग्यो सुनको भाउ

पाल्पा, सुनको मूल्य फेरि उकालो लागेको छ । केही दिन सुनको मूल्यमा गिरावट आए पनि अहिले पुनः उकालो लागेको हो । अघिल्लो दिनको तुलनामा शुक्रबार एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँ मूल्य बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि त्यसको प्रभाव नेपाली बजारमा देखिएको छ । यसअघि वैशाख ९ गते सुन १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ६ सय ५५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६ सय ७५ रुपैयाँ पुगेको छ ।

सुनको भाउले यतिबेला विश्व बजार नै तातेको छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ कीर्तिमान बनाइरहेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ । नेपालमा हाल दैनिक २० किलो सुन आयात गर्न सक्ने व्यवस्था छ । वैदेशिक रोजगारमा रहेकाले ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था छ । सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्न जान्छ । विदेशी मुद्रा सञ्चिति घटेका बेला यसले नकारात्मक असर पार्न सक्छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update