Shittalpati
सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ?

पाल्पा, यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । नेपाल आयल निगमले शनिवार डिजल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि विभागले यात्रुवाहक र मालवाहक गाडीको भाडादर घटाएको हो ।

स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरिएको छ । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ । शनिबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ अर्थात १५.१० प्रतिशत घटेको थियो । सो अनुरुप अब यात्रुवाहक सवारीसाधनको भाडा ५.४१ प्रतिशतले घटेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहकमा ७.६८ प्रतिशत घटेको छ । एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत रहनेछ । भाडा घटेसँगै कलैया–तानसेन–पाल्पाको भाडादर ७ सय २२ कायम भएको छ । जहाँ २ सय ५१ किमी दुरी पर्दछ । यहाँ यसअघि ७ सय ६४ भाडादर रहेको थियो । यस्तै २ सय ५९ किमी दुरी रहेको काठमाडौं–बुटवलको भाडा दर ७ सय ५७ कायम भएको छ । यस रुटमा यस अघि ८ सय रहेको थियो । २ सय ९८ किमी दुरी रहेको काठमाडौं–तानसेनका लागि ८ सय ९७ भाडादर कायम भएको छ ।

यस अघि ९ सय ४८ रुपैयाँ रहेको थियो । ३ सय ९ किमी दुरी रहेको काठमाडौं–हार्थोक (पाल्पा) का लागि ९ सय ३९ भाडा दर कायम भएको छ । यहाँ यस अघि ९ सय ९२ रुपैयाँ रहेको थियो । यस्तै ३ सय ७६ किमी दुरी रहेको काठमाडौं– तम्घासको भाडादर एक हजार दुई सय २६ रुपैयाँ कायम गरिएको छ । यहाँ यस अघि एक हजार २ सय ९६ रहेको थियो । विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटेमा फेरि स्वचालित प्रणाली अनुसार भाडा घट्ने छ भने पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै बढेमा थप बढ्ने छ । पछिल्लो पटक गएको असार ६ मा भाडादर समायोजन गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update