Shittalpati
आमाको स्मृतिमा काँग्रेस नेतृ केसीले आइसोलेसनलाई आर्थिक सहयोग गर्ने

गुल्मी, नेपाली काँग्रेसकी नेतृ तथा रेसुङ्गा नगरपालिका १ निवासी निर्मला केसीले आफ्नी आमाको स्मृतिमा आइसोलेसन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएकी छन् । जिल्लामा कोरोना संक्रमण बढ्दै नेपाली काँग्रेस गुल्मीले उपलब्ध गराएको आइसोलेसन सेन्टर निर्माणका लागि केसीले ५० हजार आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् । मातातीर्थ औंसी अथवा आमाको मुख हेर्ने दिनको अवसरमा स्वर्गीय आमाको सम्झना गर्दै केसीले सो बराबरको रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएकी हुन् ।

यस अघि नेपाली काँग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले नेपाली काँग्रेसको जिल्लास्थित पार्टी कार्यालय बीपी स्मृती भवनलाई आइसोलेशनका रुपमा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणका कारण मानव समाज संकटमा परेको छ । यस अवधिमा कतिपयले उपचार नपाएर ज्यान गुमाइरहेका छन् । सोही पक्षलाई ध्यानमा राखेर केसीले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताएकी छन् ।

केसीले सामाजिक सञ्जाल मार्फत केही महिना अगाडि श्वासप्रश्वास समस्याले असामयिक रुपमा आफ्नी आमालाई सदाका लागि गुमाउनु परेको उल्लेख गर्दै अब कोही पनि नागरिकले उपचार नपाएर ज्यान गुमाउन नपरोस् भनेर आइसोलेसन निर्माणका लागि आर्थिक गर्ने बताएकी छन् । उनले भनिन्,‘आमाको बाँच्ने प्रवल चाहना हुँदाहुदै पनि त्यो हृदय विदारक घटना टुलुटुलु हेर्नू बाहेक हामी सँग अरु बिकल्प रहेन । त्यो क्षण सम्झदा पनि मुटु छियाछिया हुन्छ।’ केसीले अघि थपिन्, ‘हरेक बर्ष आजको दिन आत्मीय हर्षकासाथ आमाको मुख हेरिन्थ्यो । तर यो बर्ष पहिलो पटक यो अवसरबाट बञ्चित हुनु पर्दाको पीडा असहय भएको छ ।’ केसीले आफ्नो आमाले जस्तै असामयिक रुपमा अक्सिजन लगायत स्वास्थ्य सामग्रीको अभावमा कसैले मृत्युवरण गर्न नपरोस् भन्ने कामना गरेकी छन् ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update