Shittalpati
पाल्पा होटल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुवेदी

पाल्पा,पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको अध्यक्षमा मोहन प्रसाद श्रेष्ठ चयन भएका छन् । संघको शनिबार तानसेनमा भएको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनले पाल्पा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा मोनिका गेष्टहाउसका सञ्चालक तथा स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय महासचिव जीवलाल सुवेदी रहेका छन् ।

अधिवेशनले उपाध्यक्षमा जयनारायण सापकोटा,महिला उपाध्यक्षमा रञ्जना अर्याल,महासचिवमा अन्नपूर्ण गार्डेनका सञ्चालक लक्ष्मण बस्याल,सचिव अमृत नेपाल, कोषाध्यक्षमा अशोक महर्जन, सह–कोषाध्यक्षमा मुकेश जिसीलाई चयन गरेको छ । संघको सदस्यहरुमा नारायण गोपाल पाण्डे, धिरेन प्रधान, अशोक थापा, रविन्द्र बजा्रचार्य, साजन सुवेदी, बसन्त कुंवर, मणीकान्त न्यौपाने, सुशील नेपाल, किरण चित्रकार, विष्णु बहादुर थापा, सरण श्रेष्ठ, महिला सदस्य शोभा भट्टराई रहेका छन् ।

जिल्लाको पर्यटन प्रवद्र्धन र समग्र आर्थिक विकासका लागि गुणस्तरीय र मर्यादित होटल व्यवसायको विकास आधारभूत सर्त भन्ने मान्यतालाई आत्मसाथ गदै अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए । व्यवसायीहरुकोे नेतृत्व एवं व्यक्तित्व विकास गर्न, होटल तथा पर्यटन क्षेत्रमा लगानी भित्र्याउन, जिल्लाका होटल व्यवसायीहरु एक ढिक्का भएर लाग्ने नवर्निवाचित संघका वरिष्ठ उपाध्यक्ष सुवेदीले बताए ।

जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरुको सम्भाव्यता अध्ययन तथा अवलोकन गर्दै व्यवसाय सुधार तथा गुणस्तर अभिवृद्धिका लागि गोष्ठी, अन्तक्र्रिया, बहस र विभिन्न रचनात्मक सामाजिक सेवामूलक कार्यक्रमहरु सञ्चालनमा आफुले पहल गर्ने नवर्निाचित महासचिव बस्यालले प्रतिवद्धता जनाएका छन् । संघ यस अघि तदर्थ समिति मार्फत सञ्चालन हुँदै आएको थियो ।

 होटलमा ८० हजार व्यवसायी आवद्ध : अध्यक्ष शाह

होटल तथा रेष्टुरेष्ट व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहले होटल तथा रेष्टुरेण्टमा देशभर ८० हजार व्यवसायीहरु आवद्ध रहेको बताएका छन् । शनिबार पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै अध्यक्ष शाहले २०६८ सालमा स्थापना भएको महासंघमा देशभरका करिब ८० हजार होटल व्यवसायीहरु आवद्ध रहेको बताएका हुन् । उनले देशको अर्थतन्त्रका लागि महासंघको ठूलो योगदान रहेको भन्दै ६ लाख मानिसहरुले होटल तथा रेष्टुरेण्टमा रोजगार समेत पाएको बताए । अध्यक्ष शाहले भने ‘होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई एक ढिक्का बनाई अगाडि बढाउनका लागि ७७ वटै जिल्लाको प्रतिनिधित्व रहने गरी महासंघ स्थापना गरिएको हो ।’ होटल तथा रेष्टुरेण्ट देशको पर्यटकीय विकासको एक अभिनन् अङ्ग भएकाले सरकारसँग सहकार्य गरेर नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने पहिलो प्राथमिकता रहेको उनले बताए । देशको समृद्धिका लागि सरकारी निकाय र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको भन्दै शाहले सरकारले निजी क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले भने ‘होटलमा अरबौको लगानीहरु गरिए पनि अतिथि सत्कारका लागि प्राप्त ज्ञान सीप नहुँदा व्यवसायीले फड्को मार्न सकेको छैन,सरकारलाई होटल व्यवसायीहरुले ठूलो मात्रमा कर तिर्ने गरे पनि सरकारले भने होटल प्रवद्र्धनका लागि आवश्यक तालिमहरु सञ्चालन नगर्नु दुखद् रहेको छ ।’ समयको माग अनुसार होटल व्यवसायीलाई परिवर्तन गर्दै जानका लागि सरकारले सोही अनुसारको तालिमको व्यवस्था गरिदिन अध्यक्ष शाहले आग्रह गरे । कार्यक्रममा प्रदेश सांसद डा.पुरनमान बज्राचार्यले होटल र रेष्टुरेण्ट फरक –फरक पाटो रहे पनि पेशागत रुपमा संगठन हुनु अत्यन्त प्रसंसनी कार्य रहेको बताए ।

उनले पेशागत संगठनलाई कुनै पनि राजनितिक गन्ध आउन नदिन संघलाई आग्रह गरे । सांसद बज्राचार्यले तानसेनमा अरबौका होटलहरु सञ्चालनमा आइरँदा होटल तथा रेष्टुरेण्ट व्यवसायी एक हुनुले सकरात्मक सन्देश प्रवाह गरेको बताए । तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले जिल्लाका होटल व्यवसायीहरुको हितमा काम गर्न संघलाई आग्रह गरे । कार्यक्रममा तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मी देवी पाठक ,प्रमुख जिल्ला अधिकारी यादव सुवेदी, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन,पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेल, राप्रपाका जिल्ला अध्यक्ष रेवन्त विष्ट, पाल्पा होमस्टेका अध्यक्ष मनमोहन श्रेष्ठ, मदिरा व्यवसायी संघका अध्यक्ष यादवसिंह कार्की,नाटा पाल्पा च्याप्टरका अध्यक्ष प्रदिप प्रसाद उदय,निर्मल श्रेष्ठ लगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए । संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष जीवलाल सुवेदीको स्वागत, सचिव नारायण गोपाल पाण्डेको धन्यवाद,उपाध्यक्ष जयराम सापकोटाको सञ्चालनमा उद्घाटन सत्र कार्यक्रम भएको थियो ।

 

 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update