Shittalpati
नागरिक सहकारीको भित्तेपात्रो विमोचन

पाल्पा,नागरिक बहुउद्देश्य सहकारी संस्था तानसेनले भित्तेपात्रो विमोचन गरेको छ । सहकारीले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयो्जना गरी नयाँ वर्ष २०७८ सालको शुभकामना आदन–प्रदान सहित भित्तेपात्रो विमोचन गरेको हो ।

उक्त भित्तेपात्रोको लुम्बिनी प्रदेशका सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति विरबहादुर रानाले विमोचन गरेका हुन् । भित्तेपात्रो विमोचन गर्दै सांसद रानाले दुरदराजमा रहेका आवाजविहिन,पहुँच भन्दा बाहिर रहेका नागरिकहरुको क्षेत्रमा काम गर्न सहकारीलाई आग्रह गरे । उनले सहकारीले सहकारीका सिद्धान्तलाई आत्मसाथ गर्दै नाफामुखी भन्दापनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
सहकारीका सल्लाहकार समेत रहेका रानाले समाज र देशको आर्थिक समृद्धि हासिल गर्नका लागि सहकारीको महत्वपूर्ण भूमिका रहने भन्दै विचार र आस्था भन्दा माथि उठ्न सके मात्र सहकारीको विस्तारमा कायापलट ल्याउन सकिने धारणा व्यक्त गरे । उनले सहकारीबाट मात्रै जनताको जीवनस्तरमा सुधार ल्याउन सकिने बताएका छन् । सबै नागरिकहरुलाई सहकारीमा आवद्ध गराउन जरुरी रहेको सांसद रानाको भनाई छ । उनले नयाँ वर्षको अवसरमा सबैलाई नयाँ जोस र उमङ्ग सहित अगाडि बढ्न समेत आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरेले सबै वर्ग र क्षेत्रका नागरिकहरुलाई भावनात्मक रुपमा एक ठाउँमा उभ्याउन सहकारीले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले सहकारीको मूल्य र मान्यता अनुरुप सहकारीलाई अगाडि बढाउनुपर्ने बताए । उनले ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भई व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतवद्ध प्रयास नै सहकारी रहेको धारणा व्यक्त गरे । सहकार्य र विश्वासले मात्र सहकारी चल्ने भएकाले राजनिती आस्था भन्दा माथि उठेर काम गर्न अध्यक्ष थापाले सहकारी अभियान्ताहरुलाई आग्रह समेत गरेका छन् । क्यालेण्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको छ । सहकारीका अध्यक्ष झमनराज मगरको अध्यक्षता, उपाध्यक्ष रक्मागत भट्टराईको स्वागत, सचिव अशेष भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update