Shittalpati
जेष्ठ नागरिकको सम्मानमा गुल्मीदरबार गाउँपालिका

रमेश विश्वकर्मा
गुल्मी, जिल्लाको गुल्मीदरबार गाउँपालिकाले जेष्ठ नागरिकहरुको सम्मानमा चासो देखाएको छ । गाउँपालिकाले जेष्ठ नागरिकहरु नै समाजका पथप्रदर्शक भएको भन्दै उनीहरुको सम्मानमा चासो देखाउदै आएको हो । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम अन्तर्गत नै गाउँपालिकाले उनीहरुको चासो, गुनासो, समस्या, इच्छा, आकांक्षाका विषयमा टोल–टोलमा पुगेर अन्तक्र्रिया गरेको छ ।

गाउँपालिकाका सबै वडाहरु र टोलहरुमा पुगेर अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्दै ८७ वर्ष माथिका एक सय जना जेष्ठ नागरिकहरुलाई जाडो र गर्मीको समयमा समेत प्रयोग गर्न मिल्ने फाइबर सिरक समेत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । गाउँपालिकाले असोज १५ गते जेष्ठ नागरिक दिवसको अवसरमा समेत घरमा एक्लै भएको समय गीत, संगीत, भजन तथा समाचार सुन्नको लागि भन्दै उनीहरुलाई रेडियो वितरण गरेको थियो । त्यस्तै गाउँपालिकाले ८४ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको घर–घरमा स्वास्थ्यकर्मीहरु खटाई स्वास्थ्य परीक्षण समेत गरेको थियोे । दम, सुगर, प्रेसर लगायतका दीर्घ रोगीहरूलाई निःशुल्क औषधी वितरण गर्ने, असक्त जेष्ठ नागरिकहरूको घर–घरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने लगायतका कार्यक्रमहरू सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए । गाउँपालिकाले आफुहरुको हरेक पक्षमा ध्यान दिएको भन्दै यहाँ जेष्ठ नागरिकहरु हर्षित भएका छन् । आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि पनि जेष्ठ नागरिक लक्षित कार्यक्रमका लागि महत्वपूर्ण सुझावहरू गाउँपालिकालाई प्राप्त भएको उनले बताए ।

प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update