Shittalpati
पाल्पाली ढाका प्रवर्धनका लागि तालिम

पाल्पा,पाल्पाली ढाकाको प्रवद्र्धन तथा विस्तार गर्न तालिम दिइएको छ । पाल्पाली ढाका संघले पाल्पाली ढाकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा थप विस्तार तथा प्रवद्र्धन गर्नुको साथै जिल्लाका नागरिकहरुलाई आयआर्जनमा लाग्नका लागि तीन महिने तालिम दिएको हो ।
मंसिरमा सञ्चालन भएको तीन महिने तालिमको मंगलबार तानसेनमा एक कार्यक्रमका बिच समापन गरिएको छ । तालिमको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले समापन गरेका हुन् । तालिमको समापन गर्दै मेयर शाहीले ढाका संघले पाल्पाको पहिचानको रुपमा रहेको ढाकालाई थप विस्तार गरी यहाँका नागरिकहरुलाई आयआर्जनमा लाग्नको लागि गरेको प्रयास अत्यन्त प्रशंसनिय रहेको बताए । उनले स्थानीय सरकारले पनि ढाका प्रवद्र्धनका लागि दीर्घकाली योजना बनाएर अगाडि बढेको र त्यसका लागि प्रदेश सरकारसँग पनि समन्यव गरेको बताए । प्रमुख अतिथि समेत रहेका शाहीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न तालिममा सहभागीहरुलाई आग्रह गरे ।


कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजुमान महर्जन, पाल्पा ब्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेल,यूके एड सीप परियोजनाका लुम्विनी प्रदेश संयोजक सञ्जय ज्ञवाली, साना तथा घरेलु उद्योग पाल्पाका कार्यलय प्रमुख देबिराम भण्डारी, सामाजिक विकास डिभिजन कार्यलय पाल्पाका कार्यलय प्रमुख लक्ष्मण राज ज्ञवाली लगायतले पहिचानको रुपमा रहेको पाल्पाली ढाका हराउदै जान थालेका बेला संघले देखाएको सक्रियता अत्यन्त अनुकरणीय रहेको बताएका छन् । उनीहरुले तालिमले विपन्न वर्गका नागरिकहरुलाई जिवीकोपार्जनमा लाग्न थप टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाण पत्र समेत दिइएको थियो । प्रमाण पत्र पाए पछि प्रशिक्षार्थी दिपा रानाले आफुले पाएको प्रमाण पत्रको सही ठाउँमा सदुपयोग गर्ने बताएकी छन् । उनले सिकेको सिपलाई आफुले व्यवसायिक रुपमा लगाउने प्रतिवद्धता जनाएकी छन् । तालिममा सहभागीहरुलाई ढाका संघले व्यवसायिक रुपमा घरमै तान राखेर काम गर्ने वा ढाका कारखानामा काम गर्न चाहनेहरुका लागि कामको व्यवस्था गरिदिनुको साथै आवश्यक परेको खण्डमा बैंकबाट ऋण लिनको लागि सहजिकरण समेत गरिदिने भएको छ । पहिलो चरणको तालिममा ५० जनाको सहभागीता रहेको थियो । अहिले दोस्रो चरणको तालिम समेत सञ्चालन भइरहेको संघले जनाएको छ । संघका अध्यक्ष पूर्णमाया महर्जनको अध्यक्षता, कोषाध्यक्ष ज्ञानु कार्कीको स्वागत, सचिव मनोज पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update