Shittalpati
लायन्स क्लव अफ श्रीनगरद्वारा विद्यार्थीलाई न्यानो कपडा

पाल्पा, जिल्लामा क्रियाशील सामाजिक संस्था लायन्स क्लव अफ श्रीनगरले जिल्लाको एक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लवले चिसो बढ्दै गएपछि जिल्लाको रैनादेवी छहरा गाउँपालिका ५ मा रहेको कालिका मावि मुझुका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । कक्षा १ देखि ५ सम्मका एक सय पचास जना विद्यार्थीहरुलाई एक लाख बराबरको न्यानो कपडा वितरण गरिएको क्लवले जनाएको छ ।

क्लवले विद्यालयमै पुगेर एक कार्यक्रमका बिच कपडा वितरण गरेको हो । वितरण कार्यक्रममा लायन्स क्लवका डिष्ट्रिक डेपुटी को अर्डिनेटर राजेन्द्र लिगलले विद्यार्थीहरुलाई बढ्दो चिसोबाट बच्नका लागि क्लवले केही भए पनि राहतको व्यवस्था गरेको बताए । उनले चिसो कारण विद्यार्थीहरु विद्यालय अनुपस्थित हुने कुरालाई मध्यनजर गर्दै क्लवले न्यानो कपडा वितरण गर्नु आफैमा प्रशंसनिय कार्य रहेको धारणा व्यक्त गरे । लिगलले भने ‘हामी सेवा गर्छौ भन्ने उद्देश्य ले स्थापना भएको संस्था भएकाले पनि सोही अनुरुप क्लवले काम गरेको छ ।’ कार्यक्रममा क्लवका डिपार्टमेन्ट चिफहरु भेषराज सुवेदी, कृष्ण कार्की, खेम सारु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुतमानसिंह कार्की, स्थानीय समाजसेवी रामबहादुर कार्की लगायतले आ–आफ्ना धारणा राखेका थिए । क्लवका अध्यक्ष ताराबहादुर कुंवरको अध्यक्षता, उपाध्यक्ष यादवसिंह कार्कीको स्वागत, विद्यालयका प्रधानाध्यापक जनार्दन पाण्डेको धन्यवाद, क्लवका सचिव कपिल कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update