Shittalpati
मृगौला पिडीत पाण्डेलाई आर्थिक सहयोग

पाल्पा । तानसेन नगरपालिका १४ अर्गेलीका मृगौला पिडीत झपिन्द्रलाल पाण्डेलाई आर्थिक सहयोग प्राप्त भएको छ । दुवै मृगौलामा समस्या देखिएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगमा पाण्डेलाई आर्थिक सहयोग प्राप्त भएको हो ।

उनलाई विदेश तथा स्वदेशबाट चार लाख ३ हजार दुई सय १३ रुपैयाँ आर्थिक रकम सहयोग प्राप्त भएको छ । पाण्डेको उपचारमा आर्थिक समस्या भएपछि परिवारले सहयोगको अपिल गरेको थियो । विदेश तथा स्वदेशमा रहेका पाल्पालीहरुले झपिन्द्रलाल पाण्डे बचाउ अभियान नै सञ्चालन गरेर आर्थिक रकम संकलन गरी पाण्डे परिवालाई शुक्रबार हस्तान्तरण गरिएको कार्यक्रमका संयोजक मोहन पाण्डेले बताए ।


तानसेन १३ केरवादी हाल भारतको चेन्नाई र मुम्वईमा कार्यरत यादव पाण्डे र शिवलाल बस्याल, दुवैमा रहेका शिव पाण्डे, न्यूजिल्याण्डमा रहेका टिका पाण्डे, नेपालमा रहेका मनिरतन पाण्डे, हेमन्त बस्याल, खुमन बस्याल, भोजराज पाण्डे, सिद्धार्थ नगरपालिकाका प्रेस सल्लाहकार तथा रुपन्देही एफ.एम स्टेशन म्यानेजर शंकर पाण्डे, अञ्जु भट्टराई, रमा पाण्डे, भारतमा कार्यरत ओम भण्डारी तथा पुजन पाण्डे लगायतको सक्रियतामा रकम संकलन गरिएको संयोजक पाण्डेले बताए । उनले भने‘ मृगौला पिडीत पाण्डेको उपचारमा केही भए पनि राहत पुगोस् भनेर स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगमा रकम संकलन गरिएको हो ।’

प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update