Shittalpati
फरक क्षमताका बालबालिकाका लागि मास्क र खाजा

पाल्पा । फरक क्षमता भएका बालबालिकाहरुका लागि मास्क र खाजा सहयोग गरिएको छ । नेपाल महिला संघ तानसेन नगरपालिका २ को वडा समितिले ७३ औं महिला संघको स्थापना दिवसको अवसरमा तानसेनमा रहेको सिबिआर केन्द्रका बालबालिकाहरुका लागि मास्क र खाजा सहयोग गरेको हो ।

विश्वभर फैलिएको कोरोनाबाट बालबालिकाहरुलाई जोगाउन मास्क र खाजाका लागि विस्कुट, फ्रुटी वितरण गरिएको संघले जनाएको छ । सिबिआरमा अध्ययनरत २८ जना बालबालिकाहरुका लागि संघले ५० पिस मास्क, तीन/तीन दर्जन विस्कुट, फ्रुटी दिएको हो । शनिबार संघका पदाधिकारीहरु नै केन्द्रमा पुगी त्यहाँका कर्मचारीहरुलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष मीना पन्थीले वडा समितिले फरक क्षमताका बालबालिकाहरु प्रति देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको बताईन् । उनले नेपाल महिला संघले महिलाहरुको हितमा मात्र नभई समाजमा रहेका विपन्न, एकल, असहाय, फरक क्षमता भएकाहरुको उद्यानमा समेत महत्वपूर्ण काम गर्दै आएको बताइन् । नेतृ पन्थीले अझै पनि नेपाली समाजमा एकल महिला, फरक क्षमताका व्यक्ति, बालबालिकाहरु माथिको हिंसा र बलात्कारको घटनाले महिला अधिकार प्राप्तिको लडाई एवं स्वतन्त्र रुपले बाच्न पाउने अधिकार माथि कलंकित र कुण्ठित बनाएको धारणा व्यक्त गरिन् । कार्यक्रममा संघका सदस्यहरु जया पौड्याल, रिता पौड्याल, मञ्जु रेग्मी, शान्ति थापा, नारायणी खनाल, भगवती पाण्डे लगायतको उपस्थिती रहेको थियो । संघका वडा उपाध्यक्ष सरस्वती शर्माको अध्यक्षतामा सामग्री वितरण गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update