Shittalpati
मााथागढीका किसानलाई प्रोत्साहन स्वरुप २ लाख २० हजार अनुदान

पाल्पा । जिल्लाको माथागढी गाँउपालिकाले किसानलाई उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गरेको छ । गाउँपालिकाले किसानलाई कृषिमा उत्साहित बनाउन प्रोत्साहन स्वरुप २ लाख २० हजार ३ सय ६१ रुपैयाँ अनुदान दिएको छ । गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपजमा प्रोत्साहन रकम दिएको हो । किसानलाई आत्मनिर्भर बनाउने र कृषि क्षेत्रमा उनीहरुलाई आकर्षित गर्ने उद्देश्यले माण्डव्य कृषि सहकारी संस्थामार्फत ३९ जना दुग्ध र २९ जना तरकारी तथा फलफूल कृषकका लागि १ लाख ५२ हजार ६ सय १० रुपैयाँ अनुदान दिएको छ । त्यस्तै फूलबारी दुग्ध सहकारी संस्था कसेनी मार्फत १७ जना दूध उत्पादन गर्ने भैसीपालक किसानका लागि ६७ हजार ७ सय ५१ रुपैयाँ अनुदान दिएको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए ।

गाउँपालिकाका विभिन्न वडाहरुलाई फरक–फरक कृषि उपजमा पकेट क्षेत्र बनाउने र उत्पादन बढाउने उद्देश्यले यहाँका किसानलाई अनुदान दिएको थापाले बताए । उनले भने ‘हामी कृषिबाटै गाउँपालिकाको आर्थिक समृद्धि हासिल गर्ने गरी अगाडि बढेका छौ, अहिले गाउँपालिकामा कृषि उपज उत्पादनमा न्यून रहेको छ,अबका दिनमा उत्पादकत्व बढाएर कृषिमै आर्थिक समृद्धि हासिल गर्छौ ।’ गाउँपालिकाले दूध उत्पादन गर्ने भैसी पालक किसानका लागि प्रति लिटर २ रुपैयाँ र फलफुल तथा तरकारी उत्पादक किसानका लागि प्रति केजी ३ रुपैयाँका दरले अनुदान दिने निणर्य अनुसार सो रकम वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईले बताइन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update