Shittalpati
गुल्मीमा पनि खुल्यो करदाता सेवा कार्यालय

रमेश विश्वकर्मा

गुल्मी । करदाताहरुको सेवालाई मध्यनजर गर्दै जिल्लामा करदाता सेवा कार्यालयको स्थापना भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग अन्तर्गतको करदाता सेवा कार्यालयले सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगपालिका १ क्याम्पसरोडमा कार्यालय स्थापना गरेको हो । जिल्लामा करदाता सेवा कार्यालयको स्थापनासँगै करसम्बन्धी सेवा लिनका लागि पाल्पा जानुपर्ने बाध्यताबाट जिल्लाबासी मुक्त भएका छन् । कर सम्बन्धी सेवा प्रवाह, बजार अनुगमन, व्यवसायलाई करमा दर्ता गर्ने, कर संकलन गर्ने, कर सम्बन्धी शिक्षा दिने साथै चाहेका व्यवसायीको व्यवसाय खारेज गर्ने लगायतका सेवाहरु बुधबारदेखि शुभारम्भ गरिएको कार्यालयका प्रमुख विनोद कुमार माझीले बताए ।

जिल्लामा करदाता सेवा कार्यालयको स्थापनाले सिङ्गो गुल्मेलीहरुमा खुसी थपिएको छ । व्यवसायीहरुलाई सहज हुनाले व्यवसाय गर्न चाहानेको मनोबल बढेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । व्यवसायीले तिर्ने राजस्व भन्दा जाँदा आउँदाको भाडा बढी लाग्नाले जिल्लावासीलाई मार पुगेको थियो अध्यक्ष भलामीले भने, ‘सामान्य प्रकारको राजस्व तिर्न पनि पाल्पा धाउनुपर्ने वाध्यताले व्यवसायी वाक्क परेका थिए । करदाता सेवा कार्यालय तम्घास मै आएकाले व्यवसायी साथै जिल्लावासीहरुमा खुसी थपिएको छ ।’

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउनले तिर्नं नपाएको कर पनि अब सहज रुपमा तम्घासबाटै तिर्न पाउँदा व्यवसायीहरु हर्षित बनेको गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ । करदाता सेवा कार्यालय गुल्मीमा कर सम्वन्धी सबै प्रकारका सेवाहरु प्रदान गरिने छ । कार्यालय स्थापनापछि धेरै जना करमा आवद्ध हुने कार्यालयले विश्वास लिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update