Shittalpati
तानसेन १० का विपन्न परिवारलाई काँग्रेसले बाड्यो राहत

पाल्पा । जिल्लाका स्थानीय सरकारहरुले बन्दाबन्दीका बेला समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएका नागरिकहरुलाई राहत वितरण गर्दै आए पनि केही स्थानीय तहहरुले राहत वितरणमा विभेद गरेको गुनासो आएपछि काँग्रेसले राहत नपाएकाहरुलाई राहत वितरण गरेको छ ।

नेपाली काँग्रेस तानसेन वडा नं १० को वडा समितिले यस अघि नगरपालिकाद्वारा वितरण गरिएको राहत नपाएका ६२ घर परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरेको हो । राहत पाउनुपर्नेलाई पनि नगरपालिकाले राहत नदिएको भन्दै काँग्रेस वडा समिति समक्ष वडावासीले राहत व्यवस्थाका लागि आग्रह गरेपछि नामावली संकलन गरि वडामा रहेका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको पार्टीका वडा सभापति रामचन्द्र कार्कीले बताए ।

काँग्रेसले दोस्रो चरणको राहत वितरण तत्काल अगाडि बढाउन नगरपालिकाको ध्यानाकर्षण गराए पनि दोस्रो चरणको राहत वितरण सुरु नगर्दा दैनिक ज्यालादारी काम गरेर जिविकोपार्जन गर्ने मजदुरहरू समस्यामा परेकाले राहत वितरण गर्न थालेको वडा समितिले जनाएको छ । कार्यक्रममा नेपाल विद्यार्थी संघका कार्यवाहक जिल्ला सभापति सुरेश बोहोराले पहिलो चरणको राहत पाएकाहरूलाई दोस्रो चरणको राहत आवश्यक परिसकेको अवस्थामा पहिलो चरणमै राहत पाउनुपर्ने विपन्न परिवारले राहत नपाउँदा उनिहरूलाई दैनिक गुजारा चलाउन समस्या परेकाले काँग्रेसले पहल गरेको बताए । संकलित राहत सोहि वडावासि समाजसेवी एवं विदेशमा पढ्ने विद्यार्थीहरूले समेत सहयोग गरेको जनाइएको छ ।

राहत स्वरूप १५ केजी चामल,१ केजी,दाल,१ केजी नुन,१ लिटर खाने तेल वितरण गरिएको थियोे । काँग्रेसले दोस्रो चरणको राहत वितरण गर्न र पहिलो चरणमा छुटेकाहरूलाई समेत समेटेर राहत वितरण गर्न माग गरेको पार्टीका वडा समिति कोषाध्यक्ष दामोदर घिमिरेले जानकारी दिए । १६ जना बालबालिकाहरूलाई पौष्टक आहार र हात धुने साबुन समेत वितरण गरिएको छ । यस अघि वडामा तानसेन गुठी काठमाडौले १९ घर परिवार र काँग्रेसका जिल्ला नेता शिवचन्द्र खनालले बच्चाका लागि १६ प्याकेट पौष्टिक आहार र हातधुने साबुन उपलब्ध गराएका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update