Shittalpati
निर्वाचनमा विवेकको प्रयोग गरौं

भर्खरै सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति ४ मंसिर २०७९ मा हुने घोषणा गरेको छ । योसँगै देश निर्वाचनको माहोलतर्फ धकेलिएको छ । क्षेत्र,प्रदेशमा को कुन पदमा उठ्ने भन्ने बहसले चिया पसलदेखि चोक चौताराहरू तात्तिन थालेका छन् । ठूला भनिएका दलहरू गठबन्धन र ध्रुवीकरणको रस्साकस्सीमा छन् । गठबन्धन हुँदा आफ्नो भाग काटिने हो कि भन्ने चिन्ता पनि छँदै छ, अनि गठबन्धन नाइँ भन्न पनि सकिएको छैन । कोही पार्टी छोडेरका वा नयाँहरुले स्वतन्त्र हुँ भन्दै उम्मेदवारी दिँदै छन् । कोही मिडियामा कमाएको वाहवाहीलाई स्वतन्त्रको खोल ओढेर समानुपातिक मत पाउने लालसाले लपेटिएका छन् । ति सबैलाई लाग्छ, ‘देश बदल्न मसँग जादूको छडी छ ।’ तर, समय उनीहरुले सोंचे जस्तो छैन । व्यक्तिवादी स्वतन्त्र राजनीति गर्नेले जितेर पनि केही गर्न सक्ने अवस्था छैन । पचासौं वर्षदेखि शासन सत्तामा रहेकाहरुले केही गर्न सकेनन् । अब तिनीहरुको विकल्प खोज्नुपर्ने बेला आएको छ ।

पटक–पटक प्रधानमन्त्री, मन्त्री, सांसद भएकाहरू जसले अवसरलाई ‘अनियमित कर्म’मा मात्र प्रयोग गरे उनीहरूलाई जनताले अबको निर्वाचनमा विश्राम दिने वातावरण सिर्जना गरिदिनुपर्छ । आमनागरिकलाई जेष्ठ नागरिक हुने उमेर घटाउने तर आफू भने कहिल्यै जेष्ठ नागरिक नहुने, अचेत रूपमै भए पनि शासन गरिरहनेहरूलाई यसपालिको निर्वाचनमा हराउनै पर्छ । उम्मेदवार बन्न पाउने उनीहरुको संवैधानिक अधिकारको हो । तर त्यसको रक्षा गर्दै आम मतदाताले उनीहरुलाई विश्राम दिनै पर्छ । अन्तिम सास फेर्दासम्म पनि कुर्सी र पद फेर्न नमान्ने नेताहरूले देशलाई बन्धक बनाएका छन् । अब जनताले नै त्यसलाई तोड्नुपर्छ । अब पनि नेपाली नागरिकले विवेक पु¥याएनन् भने फेरि अर्काे निराशा छाउने छ । निराशा चरम विन्दुमा पुग्दै छ । त्यो अवस्था सबका लागि घातक हुने छ  । अहिले नै जनताले विवेक पु¥याएनन् भने आर्थिक संकटमा पर्न थालेको देशमा नागरिक पछुताउनुबाहेक केही हुने छैन । देश र नागरिक बचाउन अब कुशल नेताको आवश्यक छ । यसर्थ कुसल नेताको खोजी निर्वाचनमार्फत हुने हुँदा आगामी निर्वाचनमा जनताले बुद्धि र विवेक प्रयोग गर्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update