Shittalpati
म जनताको सेवक हुँ : मन्त्री राना

पाल्पा, लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिचाइँ मन्त्री वीरबहादुर रानाले आफू जनताको सेवक भएको बताएका छन् । उनले आफ्नो बुद्धिले भ्याएसम्म निष्ठा र इमान्दारितापूर्वक जनताको सेवामा लागेको बताएका हुन् ।
सत्ता गठबन्धन अन्तर्गत नेपाली काँग्रेस पाल्पा क्षेत्र २ (१) को प्रदेश सभा सदस्यका उम्मेदवार समेत रहेका मन्त्री रानाले जनताको अवस्था बदल्न र उज्यालो प्रदेश बनाउन जनताको सेवक भएर राजनीतिमा लागेको बताए । आइतबार यम्घाको दर्पुक, मदनपोखराको दमकडा लगायतका क्षेत्रमा भएको घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार रानाले हिजोका दिनमा पनि जनताकै दुःख, सुखमासँगै रहेको र भोलिका दिनमा पनि जनताकै सेवक बनेर हिँड्न चाहेको बताएका हुन् । उनले पाल्पावासीको सेवकका रुपमा निरन्तर लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे । सिंगो लुम्बिनी प्रदेश र पाल्पालाई उज्यालो बनाउने आफ्नो लक्ष्य रहेको मन्त्री रानाले बताए ।
जनताको अवस्था बदल्न र उज्यालो प्रदेश बनाउन भ्रष्ट प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा उनको छ । भ्रष्ट्राचार अन्त्य नगरेसम्म मुलुक बनाउन सकिँदैन मन्त्री रानाले भने, ‘भ्रष्टाचारीको मूलजरो उखेल्न मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धनले जित्न नै पर्नेछ ।’ भ्रष्टहरुलाई ठेगान लगाउन पाल्पावासीले साथ दिनुपर्छ उनले भने । सिद्धबाबा सडकको समस्या समाधान, कालीगण्डकी करिडोर, माडी चक्रपथ साथै झुम्सा–कचल, सालझण्डी–सुन्दरढुंगा, रामपुर–तानसेन–छहरा सडक स्तरोन्नती, तानसेनका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने, कृषि तथा पशुपालनमा आधुनिकीकरण, व्यवसायीकरण, सिंचाइमा सुधार गर्ने, यहाँका धार्मिक तथा पर्यटकीय स्थलकहरुको विकास गर्दै पाल्पालाई विकासोन्मुख बनाउन सधैँ लागिरहने मन्त्री रानाले बताए । सधैँ जनताको घरदैलोमा पुग्ने र जनताको सेवक बन्न आफू फेरी उम्मेदवार बनेर आएको उनले मतदातालाई विश्वास दिलाए । विकास सम्भव छ, गर्न सकिने रहेछ भन्ने सन्देश दिन चाहन्छु मन्त्री रानाले भने, ‘देश र जनताको सेवा गर्न राजनीतिमा लागेको र यसमा साथ पाल्पावासी जनताको हुनुपर्छ ।’ बोलेर, ढाँटेर भन्दा पनि गरेर पाल्पालाई उज्यालो बनाउने छु उनले भने ।
रानाले आफु सांसद र मन्त्री भइसकेपछि पाल्पाको कृषि, शिक्षा, सडक र पूर्वाधारका क्षेत्रमा उल्लेखिय काम गरेको र केही महत्वपूर्ण योजनाहरु अगाडि बढेकाले ति योजना पुरा गर्नका लागि पनि आम मतदाताले सहयोग गर्न आग्रह गरे । फरक प्रसंगमा मन्त्री रानाले लामो लडाइँपछि लोकतान्त्रिक व्यवस्था स्थापना भएको र त्यसलाई जोगाएर अघि बढ्न गठबन्धन भएको बताए । ‘आज राष्ट्रलाई अप्ठ्यारो ठाउँबाट ल्याइएको छ । लामो लडाइँपछि लोकतान्त्रिक व्यवस्था हामीले ल्याएका छौं । यसलाई बचाएर देशको विकास गर्नुछ । देशलाई समृद्ध, सम्पन्न बनाउनु छ । त्यसैले आज यो महत्वपूर्ण जिम्मेवारी गठबन्धनको काँधमा आएको छ,’ उनले भने । चुनावले राष्ट्रलाई कुन दिशामा लाने भन्ने निर्णय गर्ने भएकाले सचेत रहन पनि मतदातालाई रानाले आग्रह गरे । उनले गठबन्धनमा रहेका दलहरू एकताबद्ध रहेकाले कसैमा पनि कुनै शंका नराख्न समेत आग्रह गरे ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update