Shittalpati
आफैलाई चिन्न सके शान्ति प्राप्त हुन्छ : मन्त्री राना

हाम्रा संवाददाता
पाल्पा, लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले आफैले आफैलाई चिन्न सके शान्ति प्राप्त गर्न सकिने बताएका छन् । शुक्रबार श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ पाल्पाले तानसेनमा आयोजना गरेको श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले आफैले आफैलाई चिन्न सके मात्र शान्ति प्राप्त गर्न सकिने बताएका हुन् । मानिसले आफैले आफैलाई चिन्ह नसक्दा समाज र राष्ट्रमा द्धन्द्ध,हिंसा, हत्याका घटनाहरु बढ्दै गएको भन्दै उनले पहिला आफैलाई चिन्नुपर्ने बताए । मन्त्री रानाले भने,‘हामीले आफैलाई चिन्न सकिरहेका छैनौ, जसले गर्दा अशान्ति पैदा भएको छ ।’ आध्यात्मिक चिन्तन र ज्ञानका माध्यमबाट आफैले आफैलाई चिन्ने प्रयास गर्नु पर्ने उनले बताए ।

मन्त्रीले रानाले पछिल्लो समय अतिवादी तत्वहरु मौलाउदै गएको बताए । उनले धर्म, लिगं, जाति र क्षेत्रका नाममा अतिवादी तत्वहरु सल्बलाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता तत्वहरुलाई परास्त गर्नुपर्ने औल्याए । स्वच्छ, शान्त र सुसंस्कृत समाज निर्माणका लागि आध्यात्मिक ज्ञान अहिलेको आवश्यकता रहेको मन्त्री रानाले औल्याए । अध्यात्म आफूभित्रको ज्ञान र विवेक चिन्ने विषय भएकाले यसको मार्ग पहिल्याउन सके समाजमा नैतिकताको अभाव नदेखिने उनले बताए । कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ पाल्पाले आध्यात्मिक शिक्षा फैलाउन खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले आध्यात्मिक शिक्षा आजको आवश्यकता भएकाले पनि यस विषयमा नगर सरकारले पनि संघलाई आवश्यक सहयोग गर्न तयार रहेको धारणा व्यक्त गरे । पूर्व गभर्नर चिरञ्जीवी नेपालले आध्यात्मिक चिन्तनका लागि मानिसहरु निकै पछाडी रहेको बताए । उनले आध्यामिक ज्ञानकै कारण हत्या हिंसा कम गर्न सकिने बताए । पूर्व गभर्नर नेपालले आध्यामिक क्षेत्र एक संस्कार रहेको बताए । उनले भने,‘हामीले आध्यामिक शिक्षाको भाव बुझ्न सके राम्रो हुन्छ तर सबै आध्यमिक क्षेत्रमै लाग्नुपर्छ भन्ने होइन ।’ पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले भौतिक विकासलाई सन्तुलन मिलाउन आध्यात्मिक चिन्तन जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ पाल्पाका कार्यवाहक अध्यक्ष सुन्दर केसीले भगवान श्रीकृष्णको महिमा, धर्म, सुख, शान्ति र आध्यामिक ज्ञानका विषयमा जानकारी गराएका थिए । अध्यक्ष केसीले शान्ति स्थापनाका लागि आध्यामिक शिक्षा आवश्यक रहेको बताए । उनले सबै जीवात्मसम्म आध्यामिक शिक्षा र ज्ञान पु¥याउनु संघको उद्देश्य रहेको बताए । संघले कार्यक्रममा आध्यामिक शिक्षाको विषयमा जानकारी गराउनुको साथै कृष्ण भजन, आराती समेत प्रस्तुत गरेको थियो । कष्णको ज्ञान, शिक्षा र महिमा सुन्नका लागि बालबालिका, वृद्धवृद्धा,जिल्लाका प्रभुत्व व्यक्तिहरुको समेत उपस्थिती रहेको थियो । संघका कार्यवाहक अध्यक्ष सुन्दर केसीको अध्यक्षता, सहसचिव नारायण पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update