Shittalpati
पाल्पामा काँग्रेसको वृहत भेला, जनताको घर–घरमा पुगेर एमसीसीबारेको दुष्प्रचार र भ्रम चिर्ने

हाम्रा संवाददाता
पाल्पा, नेपाली काँग्रेस पाल्पाले वृहत जिल्ला भेला गरेको छ । काँग्रेसले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान अन्तर्गत आइतबार तानसेनमा वृहत जिल्ला भेला आयोजना गरेको हो । भेलामा बोल्ने अधिकांश वक्ताहरुले जनताको घर–घरमा पुगेर एमसीसीबारे छरिएका भ्रम र दुष्प्रचार चिर्ने बताएका छन् । उनीहरुले काँग्रेसको एक महिने ‘घर–घर जाऔँ, नेपाली काँग्रेसलाई जिताऔँ’ अभियानका क्रममा काँग्रेसले जनतालाई एमसीसीका बारेमा प्रष्ट पार्ने बताएका छन् । उनीहरुले एमसीसी बारे केही पार्टी र व्यक्तिले आफ्नो स्वास्र्थको लागि जनतामा भ्रम फैलाईरहेको बताउँदै अन्य राजनीतिक दलको जस्तो सत्तामा हुदाँ एउटा कुरा, सत्ता बाहिर हुदाँ अर्को कुरा आफुहरुले नगर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले जनताको घर–घरमा पुगेर एमसीसीबारे छरिएका भ्रम र दुष्प्रचार चिर्ने बताएकी छन् । उनले अझै पनि जनतामा एमसीसीका विषयमा भ्रम फैलाइएकाले त्यसलाई प्रष्ट पार्न आफुहरु जनताको घरदैलोमा जान लागेको बताइन् । केन्द्रीय सदस्य अर्यालले मुलुक परिवर्तनका लागि अब काँग्रेसको बहुमत आवश्यकता रहेको औल्याइन् । उनले काँग्रेसले बुहमत ल्याए मात्र देश परिवर्तन हुन सक्ने बताउँदै काँग्रेसलाई मत दिन समेत आग्रह गरिन् । कार्यक्रममा पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले विगतको अनुभवबाट काँग्रेसले पाठ सिकेर अब चुनावी अभियानमा लाग्नु पर्ने बताए । उनले जनतामा एमसीसीका केही भ्रम छन् तिनलाई प्रष्ट पार्दै अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको औल्याए । नेता पन्तले विगतमा नीतिगत रुपमा बहस नहुँदा ३३ प्रतिशतमा सिमित हुनु परेको बताए । उनले संविधानले एकल बहुमतको सरकार बनाउने परिकल्पना नगरेकाले सानो–सानो समूहको पनि प्रतिनिधित्व गराएर जान सकिने भन्दै हाम्रो जस्तो मुलुकमा गठबन्धनको संस्कृति आवश्यकता रहेको बताए ।

कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघका उपाध्यक्ष मदन कट्टेलले अमेरिकी सहयोग परियोजनाको बारेमा गलत भ्रम छर्ने काम भएको बताए । संसार एक अर्काको सहयोग बिना बाच्न नसक्ने भएकाले सोही दर्शन अनुरुप नै परियोजना आएको उनले धारणा व्यक्त गरे । कट्टेलले भने ‘एमसीसी अमेरीकाले गरिब राष्ट्रलाई समुन्त बनाउन सहयोग गरेको हो । त्यो पनि पूर्वाधार आफैले निमार्ण गर्ने सर्तमा । २०६८ सालदेखि सबै सरकारमा सहभागी दलहरुको सहभागितामा प्रक्रिया अगाडि बढाइएको सहयोग अहिले राष्ट्रघाती छ भन्नु गलत ब्याख्या गर्नु हो ।’ यसै प्रसंगमा अमेरीकी सेना आउँछ भनियो, तर विकास सम्झौता भएको, सैनिक सम्झौता नभएको उनले स्पष्ट पारे । ‘मेलम्ची खानेपानी आयोजनामा जस्तो आर्थिक अनियमितता नहोस् भन्ने अमेरीकाले चाहेकाले त्यो सहयोग रकम सदुपयोगका लागि संसदबाट परित गराउने सर्त राखेको हो’ उनले भने । संसदबाट यो परियोजना मात्र होइन धैरे सहयोग लिने विषय संसदबाट पारित गरिएको उदाहरण पेश गरे ।

कार्यक्रममा जिल्ला उपसभापति ज्ञानबहादुर गाहा, सचिव सुनिता अधिकारी, पार्टीका पूर्व जिल्ला उपसभापति कृष्णप्रसाद अधिकारी, महसमिति सदस्य कृष्णप्रसाद बस्याल, क्षेत्रीय सभापतीहरु मुक्तिराम जिसी, झमनराज मगर, प्रदेश सभा सभापती रुकमागत भट्टराई, तानसेन नगर सभापति सुवर्णमुनी शाक्य लगायतका वक्ताहरुले अब पार्टीका कार्यकर्ताहरु निर्वाचन केन्द्रित हुनुपर्ने बताए । कार्यक्रममा जिल्ला सभापती हिमालदत्त श्रेष्ठले कार्यक्रम माथि प्रकाश पार्दै पार्टीले एक अभियान, आठ उद्देश्य राखेको स्पष्ट पारे । कार्यक्रम जिल्ला सभापति हिमालदत्त श्रेष्ठको सभापतित्व, सचिव सन्तोष कुमार थापाको सञ्चालनमा कार्यक्रम भएको थियो । नेपाली काँग्रेसले आइतबारदेखि देशैभर स्थानीय तहको निर्वाचनका लागि एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शुरुआत गरेको छ । अभियानका लागि प्रत्येक जिल्लामा केन्द्रीय सदस्यहरु खटाइएको छ । केन्द्रीय सदस्यहरुले एक महिनासम्म तोकिएको जिल्लामा रहेर प्रचार–प्रसार गर्ने छन् । अभियान अन्तर्गत आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य रहेको काँग्रेस पाल्पाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update