Shittalpati
कम्युनिष्टले गरेका झुठा प्रचारको भ्रम चिर्न काँग्रेस गाउँ–गाउँमा : नेता कोईराला

गुल्मी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोईरालाले कम्युनिष्टले गरेका झुठा प्रचारको भ्रम चिर्न नेपाली काँग्रेस गाउँ–गाउँ जाँदै गरेको बताएका छन् । काँग्रेस अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा गुल्मी आएका नेता कोइरालाले तम्घासमा आयोजना गरिएको वृहत भेलालाई सम्बोधन गर्दै अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विषयमा कम्युनिष्टहरुले अफबाह फैलाएकाले त्यसलाई चिर्दै आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने गरी नेताहरु गाउँ–गाउँ जान लागेको बताएका हुन् ।

नेता कोईरालले नेपालका कम्युनिष्टहरुले चीनतर्फ फर्केर बोल्दा एमसीसी देश विरोधी ठान्ने र अमेरिकातर्फ फर्कदै गर्दा राम्रो भन्ने खालका गलत बुझाईका कारण उनीहरु नेपाली जनता सामु अलोकप्रिय बन्दै गएको आरोप लगाए । उनले कम्युनिष्टहरुले गरेका झुठा प्रचारको पर्दाफास गर्नु आजको आवश्यकता रहेको औल्याए । नेता कोईरालाले भने ‘चितवनमा माओवादी नेतृ रेणु दहाललाई नगरप्रमुखमा जिताउँने क्रममा उत्पन्न निर्वाचनको परिणामका कारण त्यहाँका काँग्रेसले भोगेका नमिठा अनुभवहरु संम्झदा कम्युनिष्ठहरुको गठबन्धन वर्तमानमा राम्रो देखिए पनि भविष्यका लागि आघात हुने देखिन्छ ।’ कोईरालाले आफु गठबन्धनको विरोधी नभएको तर त्यसबाट आउँने परिणाम खतरनाक भएकाले सचेत गर्न खोजेको स्पष्ट पारे । काँग्रेस भएकै कारण देशले राजनैतिक एजेण्डा पाउनुको साथै शान्ति र नयाँ संविधानका साथ लोकतन्त्रलाई संस्थागत गर्ने कामको पहल भएकोमा गौरव गर्नुपर्ने नेता कोईरालाले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिका उपसभापति भूवन प्रसाद श्रेष्ठले स्थानीय निर्वाचनका लागि गठबन्धन स्वच्छिक हुनुपर्ने बताए । उनले गठबन्धनका कार्यक्रम संधैका लागि भन्दा पनि निश्चित समयका लागि मात्र भएको बताए । उपसभापति श्रेष्ठले भने ‘माथिबाट लादिएको गठबन्धन भन्दा पनि स्थानीय आवश्यकताले गरिने गठबन्धन फलदायी हुन्छ ।’ नेपाली काँग्रेस प्रदेश समितिका सदस्य शान्ता भण्डारीले काँग्रेसले अब निर्वाचनका हरेक अभियानलाई अगाडि बढाएको बताउँदै लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसको झण्डा लहराउँने अवस्था आएको बताईन । नेपाली काँग्रेसका नेता त्रैलोक्य प्रताप सेनले स्थानीय गठबन्धन गर्ने विषयमा सकारात्मक हुनुपर्ने धारणा व्यक्त गरे । उनले काँग्रेस जनताको पार्टी भएका कारण पनि अबका निर्वाचनमा नेपाली काँग्रेसले नै निर्वाचन जित्ने कार्यक्रमलाई अगाडि बढाउँनु आजको आवश्यकता भएको बताए ।

नेपाली काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले जिल्लाका सबै स्थानीयतहहरुको आसन्न निर्वाचनलाई आधार बनाएर प्रचारात्मक रुपमा अगाडि बढ्ने निर्णय कार्यान्वयन र केन्द्रीय समितिका कार्यक्रमलाई अगाडि बढाइएको बताए । उनले अभियानका लागि स्थानीय घोषणा पत्र निर्माणका कार्य र जनताहरुसँगको वृहद संवादलाई प्राथमिकता दिदै अगाडि बढ्ने कार्यलाई जोड दिने समेत बताए ।

निर्वाचन प्रचार अभियानलाई व्यवस्थित र प्रत्येक मतदाताको घर–घरमा जाने र मतदाता शिक्षा दिने कार्यलाई अगाडि बढाउँने, जिल्ला, निर्वाचन क्षेत्र, प्रदेश क्षेत्र, स्थानीयतह र वडा अनि टोल टोलका हरेक व्यक्तित्वहरुबाट मतदाता प्रशिक्षणलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय समेत भेलाले गरेको पार्टी सभापति पन्थीले बताए । प्रशिक्षण कार्यक्रमका लागि शिक्षक संघ, डिएलए, नेपाल प्रेस युनियन लगायतका शुभेच्छुक र भातृ संस्थाहरुलाई खटाएर अगाडि बढ्ने निर्णय गरेको पार्टी सचिव भगत सिंह खड्काले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update