Shittalpati
नेपालमा दोब्बरले मूल्यवृद्धि हुने खतरा : बिष्ट

गुल्मी, नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण बिष्टले नेपालमा दोब्बरले मूल्यवृद्धि हुने खतरा निरन्तर बढिरहेको बताएका छन् । गृह जिल्ला गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएको एकीकृत बस्तीमा पीडितहरुलाई घर हस्तान्तरण गर्दै बिष्टले नेपालमा दोब्बरले मूल्यवृद्धि हुन सक्ने खतरा बढिरहेको बताएका हुन् ।

“पेट्रोलियम पदार्थको मुल्य प्रतिलिटर १ सय ५० रुपैयाँ पुगिसकेको छ ।” पूर्व मन्त्री समेत रहेका बिष्टले भने, “रुस र युक्रेनको युद्ध नरोकिएमा नेपालको मूल्यवृद्धि दोब्बरले वृद्धि हुन सक्छ ।” निरन्तरको मूल्यवृद्धि र पछाडि धकेलिएको आर्थिक अवस्थामा वर्तमान सरकार गम्भीर बन्न नसकेको बिष्टको आरोप छ । नेपालले अहिले निरन्तर ब्यापार घाटा बेहोरेको अवस्थाले गर्दा अहिले देश अप्ठ्यारो अवस्थामा रहेको बिष्टले बताए । निरन्तर उपभोग गर्ने सबै समानहरु भारतबाट खरिद गर्नुपर्ने अवस्थामा नेपाल रहेका कारणले गर्दा आर्थिक हिसाबले देश पछाडि धकेलिएको बिष्टको भनाइ रहेको छ ।

वर्तमान गठबन्धनको सरकारले ८ महिना बित्दा पनि २० प्रतिशत पनि विकास खर्च नगर्नु लज्जास्पद भएको बिष्टले बताएका छन् । सरकारले आर्थिक वर्ष सकिन लाग्दा पनि जम्मा १७/१८ प्रतिशत बजेट मात्र खर्च गरेको भन्दै बिष्टले वर्तमान सरकारले देशको अर्थतन्त्र लथालिङ्ग बनाएको समेत बताए । फरक प्रसंगमा बिष्टले पहाडी क्षेत्रको ग्रामीण भेगमा सोचेजस्तो विकास गर्न लामो समय लाग्ने बताए ।

सिर्सेनीमा सालझण्डी–ढोरपाटन राजमार्ग विस्तारको क्रममा क्षति पुगेका र भुकम्पले क्षति पुर्याएका १७ घरपरिवार पीडितलाई एकीकृत नमुना बस्ती बनाएर घर हस्तान्तरण गरिएको हो । गाउँपालिकाको कुल ९९ लाख ४१ हजार रुपैयाँमा पीडितलाई घर बनाएर हस्तान्तरण गर्न सफल भएको गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् ।

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update