Shittalpati
काँग्रेसको सोमादीमा भेला : कार्यकर्तालाई उत्पादनसँग जोड्ने

पाल्पा,नेपाली कांँग्रेसले जिल्लाको रैनादेवी छहरा गाउँपालिका –२ सोमादीमा वृहत भेला आयोजना गरेको छ । नेपाली काँग्रेस वडा कार्यसमितिको आयोजनामा भेला भएको हो ।

सांगठनिक सुदृढिकरण अभियान अन्तर्गत नेपाली काँग्रेस पाल्पाले सबै स्थानीय तहका वडाहरुमा भेला आयोजना गर्दै आएको छ । उसले ‘घर–घर जाऔं, नेपाली काँग्रेसलाई जिताऔं’ नारा सहितको एक महिने अभियान फागुन ७ गतेदेखि सञ्चालन गरेको छ । सोही अभियान अन्तर्गत नेपाली काँग्रेस सोमादी वडा कार्यालयले वृहत भेला गरेको हो । भेलालाई नेपाली काँग्रेसका जिल्ला सभापति तथा युवा नेता हिमालदत्त श्रेष्ठले उद्घाटन गरेका हुन् । भेलालाई उद्घाटन गर्दै सभापति श्रेष्ठले कार्यकर्तालाई उत्पादनसँग जोड्ने गरी नेपाली काँग्रेस पाल्पा अगाडि बढेको बताए । उनले भने ‘राजनीतिक लडाइँ सकियो, अब कार्यकर्तालाई उत्पादनसँग जोडेर लैजान्छौं ।’ कार्यकर्तालाई उत्पादनसँग जाडेर लैजान सके मात्र पार्टीलाई दीगो र सशक्त बनाउन सकिने भन्दै सभापति श्रेष्ठले काँग्रेस पाल्पाको अर्जुनदृष्टि नै कार्यकर्तालाई उत्पादनसँग जोड्नु रहेको बताए । उनले अबको स्थानीय चुनावमा नेपाली काँग्रेसलाई विजय बनाउन आफू सहजकर्ता भएर लाग्ने समेत बताए ।

विशिष्ट अतिथि नेपाली काँग्रेसका महासमिति सदस्य तथा पूर्व डिआइजी राम कार्कीले पार्टी सुदृढीकरण सँगै उत्पादन र रोजगारलाई काँग्रेसले सँगसँगै अभियानको रुपमा अगाडि बढाउने धारणा व्यक्त गरे । उनले सालझुण्डी–सुन्दरढुंगा–सोमादी–सातमुरे सडकलाई धार्मिक पर्यटन लिङ्क रोडका रूपमा विकसित गर्ने कुरामा काँग्रेस प्रतिवद्ध भएर लाग्ने बताए । महासमिति कार्कीले यस सडक खण्डलाई पर्यटन लिङ्क रोडका रुपमा अगाडि बढाउन सके रिडी, रानीमहल लगायत पाल्पाका पर्यटकीय क्षेत्रमा पर्यटक आकर्षित गर्न सकिने धारणा व्यक्त गरे । जिल्लामा पर्यटन भित्र्याउन सके रोजगारका प्रचुर सम्भावना रहेको उनको भनाई छ ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य दानबहादुर पौडेल, माधव थापा, हरीप्रसाद पोखरेल, पूर्व क्षेत्रीय सहसचिव हरीलाल पौडेल लगायतले आफ्ना धारणा राखेका थिए । भेलाले शिव प्रसाद पोखरेल को अध्यक्षतामा वडा कार्यसमिति तरुण दल,आशा भण्डारीको अध्यक्षतामा वडा कार्यसमिति महिला संघ, शंकर सोमैको अध्यक्षतामा वडा कार्यसमिति नेपाल आदिबासी जनजाति संघ, शंकर विकको अध्यक्षतामा वडा कार्यसमिति दलित संघ गठन समेत गरेको छ । सभापति चिरञ्जीवी पोखरेलको अध्यक्षता वडा सचिव मेघराज भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update