Shittalpati
गुल्मी काँग्रेसको प्रदेश क्षेत्रीय कार्यालय उद्घाटन

गुल्मी, नेपाली काँग्रेस गुल्मीको प्रदेश क्षेत्रीय कार्यसमितिको पार्टी कार्यालय उद्घाटन गरिएको छ । इस्मा गाउँपालिका – २, छल्दीमा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (क) को पार्टी कार्यालय उद्घाटन गरिएको हो । कार्यालयको नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उप–सभापति भुवनप्रसाद श्रेष्ठले उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका उप–सभापति श्रेष्ठले आगामी निर्वाचनमा सबै एकतावद्ध भएर नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउनुपर्ने बताए । ‘जिल्ला तहमा केन्द्र र प्रदेशले राजनीतिक हिसाबबाट कुनै हस्तक्षेप गर्दैन ।’ लुम्बिनी प्रदेश उपसभापति श्रेष्ठले भने, ‘जिल्ला तहबाट पनि क्षेत्र र क्षेत्रीय प्रदेशमा कुनै हस्तक्षेप नगरेर राजनीतिक गतिविधि अगाडि बढाउनुपर्छ ।’ उनले अहिलेको अवस्थामाा नेपाली काँग्रेसमा सबै संगठित भएर अगाडि बढ्न आवश्यक रहेको औल्याए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जनताको सेवामा लाग्नुपर्ने बताए । जिल्लामा नेपाली काँग्रेसलाई पहिलो राजनीतिक दल बनाउन सबै एकतावद्ध हुनुपर्ने भन्दै सभापति पन्थीले वडातहमा संगठन विस्तारमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । जिल्लाको विकासका लागि काँग्रेसलाई जिताउनु आवश्यक रहेको पन्थीको भनाइ छ । पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णुकुमारी सापकोटा, माधव प्रसाद खरेल, नेपाली काँग्रेसका जिल्ला उप–सभापति शिवबहादुर खत्री, सचिव भगत सिंह खड्का, महासमिति सदस्य छन्दबहादुर पहराई, महाधिवेशन प्रतिनिधि प्रेमनारायण भण्डारी, क्षेत्रीय सभापति चन्द्रबहादुर महत, काँग्रेस नेता शालिकराम पन्थी, नेपाली काँग्रेस रेसुङ्गा नगर सभापति जयश्वर पन्थी, मुसिकोट नगर सभापति मोहन घिमिरे, इस्मा गाउँपालिका सभापति कृष्ण प्रसाद रिजाल, नेविसंघ जिल्ला सभापति झविन्द्र पाण्डे लगायतले पार्टीलाई बलियो बनाउने दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिए । प्रदेश क्षेत्रीय कार्यसमितिका सभापति झविन्द्र अर्यालको सभापतित्व, प्रदेश क्षेत्रीय कार्यसमितिका उपसभापति फनबहादुर रायमाझीको स्वागत, सचिव सन्तोष थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update