Shittalpati
एमसीसी अनुमोदन, सडकमा चर्कियो आन्दोलन

रामचन्द्र रायमाझी

पाल्पा,अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसद् सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि अनुमोदन भएको छ । सत्ता गठबन्धनले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित सम्झौतालाई आइतबार प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन गरेको हो । ११ बुँदे व्याख्यात्मक घोषणा समेटिएको पुरक प्रस्तावसहित एमसीसी सम्झौता संसदको बहुमतले पारित गरेसँगै आन्दोलन चर्किएको छ । एमसीसी सम्झौता संसद्मा टेबल भएदेखि नै चर्किएको आन्दोलन अहिले झन् चर्किएको हो । सोमबार एमसीसीको विरुद्धमा देशैभर आन्दोलन भयो । सडकमा टायर बालेर प्लेकार्डसहित सडकमा देखिएका युवाले एमसीसीले राष्ट्रको हित नगर्ने भन्दै सम्झौता खारेज गर्न माग राख्दै नाराबाजी गरेका थिए । व्याख्यात्मक घोषणासहित अनुमोदन गरिएको एमसीसी खारेज गर्न युवाहरुले सरकारसँग माग गरेका छन् ।

एमसीसी अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ कम्युनिष्ट घटकले सोमबार नेपाल बन्दको आह्वान गरे । बन्दले अधिकांस स्थानको जनजीवन नै प्रभावित भयो । केही ठाउँहरुमा प्रहरी र प्रदर्शनकारीहरु बीच झडप भयो भने केही ठाउँहरुमा शंकास्पद वस्तु राखेर सर्वसाधारणलाई आतंकित बनाउने काम समेत भए । पाल्पामा पनि एमसीसीको विरोधमा गरिएको बन्दले जनजीवन प्रभावित नै भयो । बन्दका कारण प्रमुख व्यापारिक केन्द्र, शैक्षिक तथा वित्तीय संस्था, पसल, व्यवसाय तथा लामो र छोटो दुरीका यातायात साधन ठप्प भए । यातायातका साधन नचल्दा यात्रुहरुले पैदल यात्रा गर्नु पर्दा सास्ती खेप्नु परेको थियो ।

बन्दकर्ताले तानसेनको आन्दोलन चोक, लहरे पिपलमा नारा जुलुश गर्दै एमसीसीको विरोधमा उत्रिएका थिए । विरोधमा उत्रिएका सात जना प्रदर्शनकारीलाई भने पाल्पा प्रहरीले पक्राउ गरेको छ । तानसेनको आन्दोलनचोकमा जबर्जस्ती भेला गराएर सडक अबरोध गर्न खोज्ने प्रर्दशनकारीलाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, राष्ट्रिय जनमोर्चा पाल्पाका कोषाध्यक्ष टिकाराम पोखरेल, नेकपा माओवादी(क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी लिला क्षेष्ठ, विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी भुवन जिसी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का जिल्ला संयोजक सुदिप विक , नेकपा विप्लव नेतृत्वको युवा संगठनका जिल्ला उपाध्यक्ष बेदप्रसाद विक, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का जिल्ला अध्यक्ष लंक राना रहेको प्रहरीले जनाएको छ । बन्दका कारण तानसेनसहित पाल्पाको जनजीवन प्रभावित बन्यो । सडकमा सार्वजनिक सवारी साधन चल्न सकेनन् भने निजी सवारी साधन पनि अघिल्ला दिनको तुलनामा धेरै कम चलेका थिए । बन्दमा कुनै पनि अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए। कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरुमा विहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको थियो । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले एमसीसी अनुमोदन गरेको भन्दै खारेजीको माग गर्दै पाल्पा सहित देशभर बन्दको आह्वान गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update