Shittalpati
पाल्पामा ७ जना बन्दकर्ता पक्राउ

पाल्पा, अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको विरोधमा ६ दलीय मोर्चाले गरेको बन्दका क्रममा पाल्पामा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । तानसेनको आन्दोलनचोकमा जबर्जस्ती भेला गराएर सडक अबरोध गरेको भन्दै पाल्पा प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।

राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, राष्ट्रिय जनमोर्चा पाल्पाका कोषाध्यक्ष टिकाराम पोखरेल, नेकपा माओवादी(क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी लिला क्षेष्ठ, विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी भुवन जिसी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का जिल्ला संयोजक सुदिप विक , नेकपा विप्लव नेतृत्वको युवा संगठनका जिल्ला उपाध्यक्ष बेदप्रसाद विक, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का जिल्ला अध्यक्ष लंक रानालाई पक्राउ गरेको  प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

बन्दका कारण तानसेनसहित पाल्पाको जनजीवन प्रभावित भएको छ । सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने निजी सवारी साधन पनि अघिल्ला दिनको तुलनामा धेरै कम चलेका छन् । बन्दका कारण लामो तथा छोटो दूरीका गाडीहरू चलेका छैनन् । सदरमुकामका केही भित्री भागमा भने पसल फाटफुट खुलेका छन् ।

लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसक्दा यात्रु गन्तव्यमा पुग्न पाएका छैनन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलले एमसीसी अनुमोदन गरेको भन्दै खारेजीको माग गर्दै पाल्पा सहित देशभर बन्दको आह्वान गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update