Shittalpati
गुल्मी काँग्रेसको कार्यसम्पादन समिति गठन

गुल्मी, नेपाली काँग्रेस गुल्मीले कार्यसम्पादन समिति गठन गरेको छ । नेपाली काँग्रेसको शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो । पार्टीका जिल्ला सभापति खिलध्वज पन्थीको प्रस्तावमा कार्यसम्पादन समिति गठन भएको पार्टी सचिवालयले जनाएको छ । कार्यसम्पादन समितिमा सदस्यहरुको नाम बैठकले अनुमोदन गरेको सचिव भगत सिंह खड्काले बताए ।

कार्यसम्पादन समितिमा सभापति पन्थी, उपसभापतिहरु अनन्तराम पौडेल, शिवबहादुर खत्री, सचिवहरु भगत सिंह खड्का, जगदीश भट्टराई, सह–सचिवहरु छविलाल पाण्डेय, धर्मराज पाण्डेय पदेन सदस्य रहेका छन् । बैठकले काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १२ उपधारा ८ (ख) बमोजिम जिल्ला कार्यसमिति सदस्यबाट २५ जना सदस्यलाई कार्यसम्पादन समितिमा राखिने व्यवस्था भएता पनि सभापति पन्थीले बैठकमा १८ जनाको नाम प्रस्ताव पेश गरेका हुन् । जसमा अखिलेश्वर प्रसाद पाण्डेय, ईश्वरी परियार, उदय बहादुर थापा, कृष्णप्रसाद पोखरेल, गोपाल पाण्डेय, धातानन्द भण्डारी, लिलाधर आचार्य, लोक प्रसाद खरेल, वेदबहादुर थापा, हरिकुमार श्रेष्ठ, शरोज कुमार थापा, शेरबहादुर कुँवर, राजेन्द्र ज.व.रा., देवि कुँवर, पदम विष्ट, नविन जिसी, योगेन्द्र श्रेष्ठ र हेमन्ता अर्याल रहेका छन् । अर्को बैठकमा बाँकी ७ जनाको नाम पेश गर्ने सभापति पन्थीले बताए ।

सभापति पन्थीले अहिलेसम्म एकजना जिल्ला सदस्य र पाँच जना आमन्त्रित जिल्ला सदस्यमा मनोनित गरेका छन् । उनले सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने उल्लेख गरे । आगामी सबै तहका निर्वाचनमा काँग्रेस पार्टीका उम्मेदवारलाई विजयी गराउनका लागि सबै तहका नेता तथा कार्यकर्ताहरु एकजुट भएर लाग्नु पर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update