Shittalpati
पाल्पामा पनि एमसीसी विरोधी प्रदर्शन

रामचन्द्र रायमाझी
पाल्पा, एमसीसीका विरुद्धमा अहिले देशभर नै विरोध प्रदर्शन भइरहेको छ । पाल्पामा पनि सत्ताधारी दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहित नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले एमसीसी खारेजीको माग राख्दै विरोधमा उत्रिएका छन् । उनीहरुले विहीबार संयुक्त रुपमा पाल्पाको सदरमुकाम तानसेनमा विरोध प्रदर्शन गरेका छन् । एमसीसी सम्झौतालाई अनुमोदन गर्नु भनेको नवऔपनिवेशीकरण स्वीकार गर्नु हो, एमसीसी सम्झौता स्वीकार गर्दा देश अस्थिरता र द्वन्द्वमा फस्छ भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । र्‍यालीसहित प्रदर्शन जिल्ला प्रशासन कार्यालय अगाडि गएर कोणसभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका जिल्ला सचिव मोहन गैरेले एमसीसी राष्ट्र हितमा नभएकाले तुरुन्तै खारेज गर्नुपर्ने बताए । उनले गठबन्धन टुटोस् तर एमसीसी यथास्थितीमा पास गर्न नहुने बताए । ‘भारतले नेपालका लागि १२ अर्ब दिने कुरा छ, त्यसलाई संसदमा पारित गर्न नपर्ने तर अमेरिकाले विभिन्न सर्तमा दिन लागेको अनुदानलाई संसदमा पारित गर्नु पर्ने ? भन्दै सचिव गैरेले प्रति प्रश्न गरे । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरेले देशको अस्मिता ५५ अर्बमा बेच्न नपाइने बताउदै कुनै पनि हालतमा एमसीसी पारित गर्न नदिने बताए । उनले भने‘ माओवादी संसदमा जान्छ, छलफल गर्छ र यसको विपक्षमा मतदान समेत गर्छ ।’ नेपाललाई अमेरिकाले क्रिडास्थल बनाउन लाग्दा एमाले र काँग्रेसले त्यसैको समर्थमा एमसीसी पारित गर्न खोज्न लागेकाले आफुहरु सडकमा आउनुपरेको नेता घिमिरेले बताए ।

नेकपा माओवादी केन्द्रकी नेतृ तुलसा रानाले संविधान भन्दा माथि गएर काम हुन थालेकाले एमसीसी खारेज गर्नु पर्ने बताईन् । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्कीले राष्ट्रघाती एमसीसीको विरुद्धमा देशभक्तहरु एक ठाउँमा उभिएको बताए । उनले भने ‘हामी वर्तमान सरकारको समर्थनमा छौं तर सरकारले राष्ट्रघाती र जनविरोधी काम गर्दै जान्छ भने गठबन्धन तोड्ने विषयमा सोच्न बाध्य हुने छौं ।’ अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने नेता घिमिरेले बताए । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीले राष्ट्रिय स्वाधिनताको लडाईमा साथ दिन देशभक्त नागरिकलाई आग्रह गरे । कार्यक्रममा राष्ट्रिय जनमुक्ती पार्टीका केन्द्रीय सचिव गीता सारु, नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला इञ्चार्ज टिका राना, र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य धिरेन्द्रा उपाध्याय लगायतले एमसीसी राष्ट्र र जनताको हितमा नभएकाले तत्काल खारेज गरिनुपर्नेमा जोड दिए । उनीहरुले साम्राज्यवादी शक्ति र देश भित्रका राष्ट्रघातीहरुले जवरजस्ती लागु गराउन रचिएको षडयन्त्रका विरुद्ध शसक्त संघर्ष गर्ने चेतावनी दिदै एमसीसीको विपक्षमा मतदान गर्न पाल्पाका सांसदहरुलाई आह्वान समेत गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update