Shittalpati
गुल्मी काँग्रेसलाई सशक्तिकरण बनाउन प्रशिक्षण

रमेश विश्वकर्मा
गुल्मी, जिल्लामा काँग्रेसको सशक्तिकरण एवं सबलीकरणका लागि एक दिने बृहत प्रशिक्षण कार्यक्रम गरिएको छ । मंगलबार ‘गुल्मी काँग्रेसको अठोट : सबल वडा, सक्षम टोल’ अभियान अन्तर्गत नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीको आयोजनामा जिल्लामा काँग्रेसलाई बलियो, सशक्तिकरण र सबलीकरण गराउनका लागि एक दिने बृहत प्रशिक्षण कार्यक्रम गरिएको हो ।

प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका वडा तहदेखि जिल्ला सम्मका नेता तथा कार्यकर्ताहरुले भाग लिएका थिए । वडाका सभापति एवं सचिवहरु, पालिकाका, प्रदेश क्षेत्रीय कार्य समिति, क्षेत्रीय कार्य समितिका, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, महासमिति एवं महाधिवेशन प्रतिनिधि लगायतका नेता तथा कार्यकर्ताहरुले उक्त प्रशिक्षण कार्यक्रममा भाग लिएका थिए । केन्द्रीय सह–महामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्य डा.गोविन्दराज पोख्रेल र काँग्रेस नेता देवराज चालिसे लगायतका नेताहरुले प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षण कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डेले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै सह–महामन्त्री पाण्डेले गठबन्धन सरकारका सहयात्री दलहरूलाई सरकारबाट जबर्जस्ती निकाल्ने पक्षमा काँग्रेस नरहेको बताएका छन् । उनले संसदबाट एमसीसी अनुमोदन हुने बताउँदै एमसीसीले संसदको प्रक्रियाबाट नै निकाश पाउने उल्लेख गरे । गठबन्धन पनि जोगाउने र एमसीसी पनि पारित गर्ने बताउँदै पाँच दलिय गठबन्धनप्रति काँग्रेसको पूर्ण विश्वास रहेको उनले बताए । उनले भने,–‘प्रचण्ड, माधव नेपालका प्रति काँग्रेसको पूर्ण निष्ठा छ । हामी एकताको र मेलमिलापको भाव राख्छौं ।’

सरकारमा सहभागी गठबन्धनकै दलले एमसीसीको विरोध जनाउँदै आएका छन् । त्यसप्रति लक्षित गर्दै सह–महामन्त्री पाण्डेले सरकारमा बसेर सरकारको कार्यसूची र ध्येयमाथि अवरोध सिर्जना गर्नुले गठबन्धनप्रति विश्वास प्रकट नहुने धारणा व्यक्त गरे । वर्तमान गठबन्धन सरकारको निर्णयबाट च्यूत हुँदै जाने तर प्रमुख प्रतिपक्ष नेकपा एमाले एमसीसी पारितका लागि सहयोगी भएर आए पनि एमालेसंग गठबन्धनमा जाने काँग्रेसको सोंच भने नभएको बताए । तर राजनैतिक घटनाक्रमले राजनीतिलाई जतापनि लान सक्ने उनले उल्लेख गरे । पार्टी विचारले सञ्चालन हुने भएकाले कांग्रेसको नीति जनताको बीचमा पु¥याउने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले बताए । उनले अधिवेशनपछिको पहिलो बैठकले ‘गुल्मी काँग्रेसको अठोट ः सबल वडा, सक्षम टोल’ भन्ने संकल्प पारित गरेको बताउँदै जिल्लाका ९३ वटै वडामा बैठकहरू एकै दिन सम्पन्न गरिए सँगै बृहत प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उल्लेख गरे । अहिले गुल्मी काँग्रेसले जिल्लाका सबै वडामा नै कार्यालय स्थापनामा जुटेको छ । उनले विधि र विधान काँग्रेसको प्राण भएको बताए । अब हामी तथ्याङ्कलाई आधार मानेर पार्टीको क्रियाकलापलाई अगाडि बढाउँछौ सभापति पन्थीले भने । प्रशिक्षण कार्यक्रममा नेपाली केन्द्रीय सदस्य चन्द्र केसी, लुम्बिनी प्रदेश उप–सभापति भुवनप्रसाद श्रेष्ठ, नेपाली काँग्रेस गुल्मीका पूर्व सभापति त्रैलोक्य प्रताप सेन लगायतका नेताहरुले मन्तव्य राखेका थिए । उप–सभापति अनन्तराम पौडेलको स्वागत, सचिव भगत सिंह खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update